५ बैशाख, काठमाडौं । भारतको दिल्ली सरकारले हरिद्वार कुम्भ मेलाबाट फर्केका सबै श्रद्धालुहरुलाई १४ दिन अनिवार्य रुपमा घरमै क्वारेन्टिनमा बस्न आदेश दिएको छ। आदेशको अवज्ञा गरेमा कारबाही गरिने चेतावनी दिल्ली सरकारले दिएको छ।
अप्रिल ४ देपख १७ सम्म कुम्भ मेलामा गएका सबै व्यक्तिहरुलाई २४ घण्टाभित्र आफ्नो व्यक्तिगत विवरण दिल्ली सरकारको वेबसाइटमा अपलोड गर्न भनिएको छ।
यसका साथै अप्रिल १८ देखि ३० सम्म कुम्भमा जाने तयारी गरेका व्यक्तिहरुले पनि जानुभन्दा पहिले वेबसाइटमा विवरण अपलोड गर्न निर्देशन दिइएको छ। ट्रेस गर्न सजिलो होस् भन्नका लागि यो नियम लागु गरिएको दिल्ली सरकारको आदेशमा उल्लेख छ।
जानकारी अपलोड नगर्नेहरुलाई दुई हप्ताका लागि सरकारी क्वारेन्टिनमा राखिने पनि आदेशमा भनिएको छ। हरिद्वारमा चलिरहेको कुम्भ मेलामा पछिल्लो पाँच दिनमा मात्रै १७०० कोरोना संक्रमित फेला परेका थिए।
लाखौँ मानिसहरुको भीडमा मास्क लगाउने र भौतिक दूरी कायम गर्ने नियमको उल्लंघन भएको थियो। दिल्लीमा शनिबार मात्रै २४ हजार भन्दा धेरै कोरोनाका नयाँ संक्रमित फेला परेका थिए।
भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह बन्न थालेको छ।
बितेको चौबिस घण्टामा भारतभर १५ सय भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन १५०१ जना संक्रमितको मृत्यु भएको हो।
एकैदिन नयाँ संक्रमित भेटिनेको संख्या पनि हरेक दिन आक्रामक रुपले बढिरहेको छ। गएको २४ घण्टामा २ लाख ६१ हजार ५०० जना नयाँ संक्रमित थपिएका हुन्।
योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ४७ लाख ८८ हजार भन्दा धेरै पुगेको छ। शनिबार भारतमा दुई लाख ३४ हजार ६९२ जनामा संक्रमण पुष्टि भएको थियाे भने चाैबिस घण्टामा १३ सय ४१ जनाको ज्यान गएको विवरण सार्वजनिक भएकाे थियाे।
हालसम्म भारतमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार १५० पुगेको छ।
भारतमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख भन्दा धेरै छ। एक करोड २८ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन्
