८ बैशाख, काठमाडौं । जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई जुरीले दोषी ठहर गरेको छ ।
गएको वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो ।
पक्राउको क्रममा ४५ वर्षे प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो ।
त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो ।
१४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहस सुनेपछि जुरीले आफ्नो निर्णय तयार पारेको हो । जुरीले पूर्व प्रहरी अधिकारी चोभनलाई सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानवहत्या अभियोगमा दोषी ठहर गरेको हो ।
सजायको घोषणा नभएसम्म चोभन हिरासतमै रहने छन् । दोषी ठहर भएका उनीमाथि दशकौँ लामो जेल सजाय हुन सक्ने छ ।
१२ जनाको जुरीले आफ्नो फैसलामा पुग्न सुनुवाईपछि एक दिन भन्दा पनि कम समय लगायो । सोमबार दुवै तर्फको बहस तथा साक्षीको बयान सकिएपछि जुरी सदस्यहरु फैसलाको छलफलका लागि होटलमा बसेका थिए ।
जुरीको फैसला आएपछि अदालत बाहिर सयौँको संख्यामा रहेका सर्वसाधारणले खुशीयाली मनाएका थिए । फ्लोइडका पारिवारिक वकिल बेन क्रूम्पले फैसला अमेरिकी इतिहासमा ‘टर्निङ्ग प्वइन्ट’ बनेको बताएका छन् ।
फैसला लगत्तै राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले फ्लोइडको परिवारलाई टेलिफोन गरेका थिए ।
फैसलाबाट केही हदसम्म भए पनि न्याय भएको राष्ट्रपति बाइडेनले टेलिफोन संवादमा बताएका छन् ।
४६ वर्षका फ्लोइडको गएको वर्ष प्रहरी हिरासतमा निधन भएको थियो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो ।
