१ साउन, कर्णाली । कर्णाली प्रदेशको आव २०७७÷०७८ को अन्तिममा बजेट खर्च ६५ प्रतिशत मात्र भएको छ । प्रदेश सरकारको चालू आवका अन्तिममा ६५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
आव २०७७÷०७८ को कूल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये रु २१ अर्ब ९६ करोड दुई लाख खर्च भएको हो । चालूतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख ३२ हजारमध्ये रु आठ अर्ब ४९ करोड २० लाख तथा पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजारमध्ये रु १३ अर्ब ४६ करोड ८२ लाख खर्च भएको कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर वमले जानकारी दिनुभयो । गत आव २०७६÷०७७ को अन्तिम खर्चभन्दा चालू आवमा ३२ दशमलव ४४ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आवमा प्रदेशको खर्च ४९ दशमलव १४ मात्र भएको थियो । चालू खर्चमा ५७ दशमलव ८७ तथा पूँजीगत खर्चमा ७० दशमलव ६३ रहेको थियो ।
गत आवको अन्त्य अर्थात् असार महिनामा मात्र रु १० अर्व खर्च भएको थियो । चालू आवको अन्तिम महिना असारमा मात्रै ५८ दशमलव ६९ प्रतिशत अर्थात् रु १२ अर्व ८९ करोड वजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । आव २०७५÷७६ मा ३५ दशमलव ३७ प्रतिशत मात्रै खर्च भएको थियो ।
त्यस्तै गरि कर्णाली प्रदेशमा चालू आवमा ३५ प्रतिशत बजेट फ्रिज भएको छ । चालू आवको असार महिनाको अन्तिमको खर्चलाई हेर्दा ३५ प्रतिशत अर्थात् रु ११ अर्ब ७८ करोड ११ लाख रकम फ्रिज भएको हो । यस्तै चालूतर्फ रु छ अर्ब १८ करोड दुइ लाख र पूँजीगततर्फ रु पाँच अर्ब ६० करोड नौ लाख रकम फ्रिज भएको कार्यालयले जनाएको छ ।
