सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पोखरेलद्वारा नगरपालिका भवन उद्घाटन


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०७८
  • 484
    SHARES

५ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाहरुको काम शुरु गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले नयाँ प्रशासनिक भवनबाट काम शुरु भएपछि नगरवासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभयो । कार्यालयबाट हुने कार्यसम्पादनबाट सेवाग्राहीको सन्तुष्टि, सेवा प्रवाहमा सेवाग्राहीको धारणा, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सबै पक्षलाई सही ढङ्गबाट अगाडि बढाउनुपर्नेमा पोखरेलले जोड दिनुभयो । कोभिड–१९ का कारण उत्पन्न भएको परिस्थिति, सरकार गठनको अवस्थालगायतका कारण चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा जिल्लामा विकास निर्माणका केही विषय छुटेका भए पनि ती विषयलाई आफूले सम्बोधन गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाउनुभयो ।

गत असार १ गतेदेखि आएको बाढीपहिराले पु¥याएको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारको तर्फबाट नगरपालिकालाई रु पाँच लाख सहयोग गरिएको भन्दै पोखरेलले स्थानीयवासीसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारले पीडितलाई राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरणलगायतका काम गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख चन्द्रबहादुर रानाले नगरको समग्र विकासमा मुख्यमन्त्री पोखरेलको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले मध्यविन्दुलाई विकास गर्न नगरले तयार गरेको गुरुयोजनासमेत मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त प्रतिवेदनमा रहेका विषयको सम्बोधन गर्न उहाँले मुख्यमन्त्रीसँग मागसमेत गर्नुभएको छ । केही वस्तुगत शाखाको काम नयाँ भवनबाट शुरु गरिएको भए पनि पूर्णरूपमा सञ्चालनका लागि अझ केही समय लाग्ने नगरप्रमुख रानाले बताउनुभयो ।

कार्यालय व्यवस्थापनका लागि फर्निचर खरिदको ठेक्का प्रक्रियामा रहेको भन्दै रानाले फर्निचर खरिद भएपछि नगरपालिकाको सबै सेवा उक्त भवनबाट शुरु हुने बताउनुभयो । मध्यविन्दु नगरपालिका निर्माण भएसँगै विसं २०७३ मा नै नयाँ भवन निर्माणका लागि शिलान्यास भएर काम अगाडि बढेको थियो । दुई चरणमा भएको ठेक्का सम्झौतामार्फत भवन निर्माण सम्पन्न गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)