तारा एअरको पोखरा–जोमसोम नियमित उडान असोज २३ देखि
काठमाडौँ, १२ असोज । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडान गर्ने भएको छ ।
नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो ।
यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित संचालन गर्न लागेको जानकारी दिनुभयो ।
“बिगतका बर्षहरुमा जस्तै पोखरा बिमानस्थलमा नै जहाज राखेर तारा एअरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौँ,”– उहाँले भन्नुभयो । कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटा सम्म उडान भर्दै आएको थियो ।
जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एअरले मात्र पोखरा, नेपालगंज र काठमाण्डौंमा नियमित बायुयान राखेर दुर्गममा सेवा दिंदै आएको छ । तारा एअरसंग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर बायुयान रहेको छ । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका बिमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।
