ललितपुर, ११ कात्तिक
राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बेदकोट नगरपालिका र सुनकोसी नगरपालिकाले जित निकालेका छन् ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकालेको हो । सुरुआतबाट नै हावी भएको बेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो ।
कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बेदकोटका लागि २९औं मिनेट व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा शोभा क्षेत्रीले टोलीका लागि तेस्रो गोल थप्दा बेदकोटले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । दोस्रो हाफमा बराहक्षेत्र खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र बेदकोटले पहिलो हाफमा निकालेको नतिजा पर्याप्त बन्यो ।
छनोट प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा सुनकोशी नगरपालिकाले धरान एसएमसीलाई ४–१ ले पराजित ग¥यो । यस खेलमा अनु लामा वुमन अफ दि म्याच घोषित भइन् ।
यस्तै यस अघि स्थगित भएको छैटौं नम्बरको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९–० गोल अन्तरले पराजित ग¥यो । काठमाडौंको जितमा जेनिफर रानाले ४ गोल गरिन । सरस्वती आयरले ह्याट्रिक पूरा गर्दा यस्तै गरिमा राई र मनिषा थापा मगरले एक÷एक गोल गरे ।
जितसँगै समूह ई को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो । तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा यस अघि नै प्रवेश गरेको छ । रोङले २ खेलमा ४ अंक जोड्यो । तर, रोङ गोल अन्तरमा अघि रहदै नकआउट चरणमा पुगेको हो ।
प्रतियोगितामा भोली ३ खेल हुनेछन् । दिनको पहिलो खेल हेटौडा र तुलसीपुर नगरपालिका, दोस्रो खेल पोखरा र विरेन्द्रनगर नगरपालिका तथा दिनको अन्तिम खेल धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिका बीच खेल हुनेछन ।
३१ टोलीले प्रतिस्पर्धा गरिहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन ।
