काठमाडौं ,२१ मङ्सिर
जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न दबाब दिदैँ जुम्लाका जनताले काठमाडौंमा सांस्कृतिक ¥याली निकालेका छन् ।
मंगलवार जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक ¥याली निकालेका हुन् । स्थानिय झाँकी, बाजागाजा र नाँचगानसहित ¥याली गरिएको थियो । जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहिहत ¥याली गर्नुपरेको प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले बताउनुभयो । जुम्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको भएपनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँगाउँमा बिस्तार हुन नसकेको उहाँले बताउनुभयो । कर्णालीको समस्या पटक पटक राख्दा पनि सरकारबाट सुनुवाइ नभएको उहाँले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो – ‘सजिलै सुन्दैन नेपाल सरकारले, विद्युत प्राधिकरणले । अनि हामीले सजिलै सुनेन भने बाजा बजाउने चलन छ हाम्रो कर्णालीतिर । यो विद्युत प्राधिकरणलाई ब्युँझाउनलाई । ग्रीड गयो भने ग्रीड गएर के गर्नुहुन्छ ? बत्ति मधुरो छ । मिटर छैन । तार छैन । पोल छैन । गाउँ गाउँमा लाइन बिस्तार भएको छैन । एकदमै ढिलासुस्ति भइराखेको छ । कर्णालीमा के भइरहेको छ उहाँले सुन्दै सुन्नुहुन्न । कर्णालीमा लाइनको बिस्तारको बारेमा उहाँको ध्यान गइराखेको छैन । कर्णाली सयौँ वर्ष भइसक्यो अध्याँरो भएको । बाटोमा पुगेको छ, गाउँमा पुग्या छैन । घरमा पुग्या छैन । कहिँ पुग्या छैन । सुन्दैन सरकार, नसुनेपछि सुनाउनलाई बाजा बजाएको ।’
¥यालीमा हामीलाई बत्तिको मिटर देउ, ट्रान्सफरमरको व्यवस्था गर, मलाइ पनि बत्तिमा पढ्ने रहर छ, हाम्रो खोलाको पानि त्यसै बग्यो, घर भने अध्याँरो छन्, बत्तिमा भोल्टेज पनि हुनुपर्छ हो है लगायत लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । त्यसैगरी जुम्लाका सम्पूर्ण बस्तीहरुमा विद्युत प्रशारण लाइनको बिस्तार गर्न र विद्युत प्रशारण लाइन पुगेका क्षेत्रमा चाँडो भन्दा चाँडो मिटर लगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापन पत्र समेत बुझाइएको छ । ¥यालीसहित नेपाल विद्युत प्राधिकरणमा पुगेका जुम्लाका जनताले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापन पत्र बुझ्न प्राधिकरणको आँगन बाहिर नै बोलाएका थिए । कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापन पत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो । यद्यपी कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको आगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिवद्धता गर्नुभयो । जिल्लाभरी विद्युत विस्तारको लागि टेन्डर गर्न लागेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘मिटरपनि आउँछ । जिल्लाभरी लाइनको लागि हामी टेन्डर गर्दैछौँ । लाइन त पुगिहाल्या छ । ग्रीड त पुग्यो नि त । ग्रीड पुग्यो, टेन्डर गर्दैछौँ । तपाइँले बुझ्नु भएको छ, टेन्डर गरेर कति टाइम लाग्छ भनेर ।’
ज्ञापन पत्रमा ३३ केभिए प्रशारण लाइन निर्माण कार्यमा भइरहेको ढिलाइको अन्त्य गरी शिघ्र कार्य सम्पन्न गर्नुपर्ने र ११ केभिए लाइनमा भएको भोल्टेज उतार चढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ ।
