बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा २० हजार बालबालिकालाई नौ जिल्लामा खोप लगाइँदै


  • माउन्टेन खबर
  • सोमवार, पुस १२, २०७८
  • 353
    SHARES

१२ पुस, जुम्ला । जुम्लाका स्थानीय तहका करिब २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका भित्रका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा ७ पुसदेखि १० सम्म मोर्डना खोप लगाउन थालिएको छ ।” १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा ११ पुसदेखि खोप लगाउने तयारी भइरहेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोर्डना खोप लगाउने लक्ष्य छ । शुक्रबारसम्म एक हजार ९३५ जना बालबालिकालाई मोर्डना खोप लगाइसकिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख क्षेत्रबहादुर महतले बताउनुभयो ।

सुर्खेत बाहेक कर्णाली प्रदेशका ९ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार मोर्डना खोपको पहिलो मात्रा शनिबारदेखि १४ पुससम्म र दोस्रो मात्रा आगामी दुई देखि १० माघसम्म लगाइने बताउनुभयो ।

साविकका गाविसमा ९ वटा केन्द्र र हालका स्थानीय तहका प्रतिवडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको निर्देशनालयका सूचना अधिकारी केसीले बताउनुभयो । स्वास्थ्य कर्मचारी, शिक्षक, शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ ।

विद्यालय नजाने बालबालिकालाई पनि नजिकैको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र ६ घन्टाभित्र लगाइ सक्नुपर्ने छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको निर्देशनालयका सूचना अधिकारी केसीले बताउनुभयो ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)