रसुवा, २० पुस । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो ।
करिब सय मिटर सडकमाथिबाट ढुंगामाटोसहितको सुख्खा पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनु भयो ।
बुधबार बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उहाले बताउनु भयो। ‘सडक सुचारु गराउन एउटा स्काभेटरले काम सुरु गरिसकेको प्रमुख जिल्ल अधिकारी जंरीले जानकारी दिनुभयो ।
सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा टिमुरे क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । विद्युतका तारहरूमा क्षति पुगेको बताइएको छ ।
सडक अवरुद्ध हुँदा रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठूला सवारी रोकिएका छन् । टिमुरे जान लागेका करिब २० वटा मालवाहक सवारी बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
