काठमाडौं, चैत १२ । सरकारले नेपालमा रहेका सबै विदेशी पर्यटकलाई उनीहरुकै देश फिर्ता गर्ने तयारी गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी नेपालमा रहेका विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो ।
समितिले नेपालमा रहेका सबै विदेशी पर्यटकको पहिचान गरी क्वारेन्टाइनमा राख्ने र स्वस्थ भएको अवस्थामा स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो ।
बैठकपछि समितिका संयोजक पोखरेलले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारको कदमप्रति जनताको सकारात्मक प्रतिक्रिया रहेको माउण्टेन खबरलाई बताए ।
सरकारले कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम न्यूनीकरण तथा नियन्त्रणको लागि आन्तरिक तथा बाह्य उडान बन्द गरिसकेको छ भने मंगलबारदेखि एकसातासम्म लकडाउन समेत गरिसकेको छ ।
