अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ रोकथाममा विश्व स्वास्थ्य संगठनले लापर्वाही गरेको र चीनको बोली बोलेको आफ्नो आरोपलाई पुनः दोहोर्याउनु भएको छ ।
उहाँले स्वास्थ्य संगठनले महामारीलाई सहि रुपमा बुझ्न नसकेकोले स्थिति भयावह बन्दै गएको आरोप लगाउदै अमेरिकाले दिदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी पनि दिनुभएको छ ।
कोभिड नियन्त्रणमा स्वास्थ्य संगठनको भूमिकालाई लिएर निकै रुष्ट बन्नु भएका राष्ट्रपति ट्रम्पले संगठनले आफ्नो प्राथमिकताको क्षेत्र बुझेर काम गर्नुपर्ने भन्दै उसलाई दिदै आएको सहयोगबारे पुनर्विचार गर्न अध्ययन गरीने पनि बताउनुभएको छ ।
कोभिड-१९ को सङ्क्रमणबाट विश्वमै सबैभन्दा धेरै मानिसहरु अमेरिकामा विरामी परेपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य संगठनले चीनको पक्षमा रहदै समयमै सही सूचना नदिएको बताउदै आउनुभएको छ ।
तर स्वास्थ्य संगठनले भने महामारीलाई राजनीतिक रङ्ग नदिन आग्रह गर्दै विपद्को समयमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएको छ । संगठनका प्रमुख थेडरोस एडहोनोमले स्वास्थ्य संगठनले गरेको कामको बचाऊ गर्दै अमेरिका र चीन दुबै मुलुकबाट इमान्दार व्यवहारको अपेक्षा गरेको बताउनुभएको छ । उहाँले अमेरिका र सबै सदस्य मुलुकहरुले स्वास्थ्य महामारीबाट उम्कन संगठनलाई निरन्तर सहयोग पुर्याउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
