
सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताउनुभयो । उहाँले प्रत्येक दिन सात आठ सय भन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको बताउनुभयो । यस्तै परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमडौंको बिर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो । प्रवक्रा देवकोटाले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण शुरु हुने बताउनुभयो ।
अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बसेका सबैको र्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उहाँले बताउनुभयो । यस्तै अहिलेसम्म आइसोलेसनमा ८२ जना रहेको समेत प्रवक्ता देवकोटाले बताउनुभयो । उहाँले तीन दिन यता र्यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको १४ दिन भन्दा बढी भएको अवस्थमा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताउनुभयो । यस्तै ७७ वटै जिल्लामा र्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उहाँले बताउनुभयो ।
यस्तै सरकारले सञ्चालन गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ३ हजार ४० जनाको जिज्ञासाको सम्बोधन भएको उहाँले बताउनुभयो । चौबिस घण्टामा ५ जना रेड जोनमा परेको र अहिलेसम्म १ सय ८९ जना रेड जोनमा रहेको उहाँले बताउनुभयो ।