काठमाडौं ।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले छिमेकी राष्ट्र चीनबाट खरीद गरी ल्याइएको एक हजार थान ३० लाख रुपैयाँ बराबरको व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) सहयोग गरेको छ । संस्थाले उक्त स्वास्थ्य सामग्री शुक्रवार आयोजित एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो । सो सामग्रीहरू स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरी सातै प्रदेशमा हस्तान्तरण गर्नेछ ।
कार्यक्रममा मन्त्री भट्टले राष्ट्रिय व्यावसायिक पहलले कोरोना संकटको चूनौतीपूर्ण घडीमा प्रारम्भदेखि नै आर्थिक सहयोग एवं राहत संकलन तथा वितरणमा पु¥याउँदै आएको सहयोगका लागी धन्यवाद व्यक्त गर्दै प्राप्त स्वास्थ्य सामग्रीले महामारी नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । साथै उनले बन्द उद्योगहरू कसरी पूर्ववत् अवस्थामा चलाउन सकिन्छ भनेर जिज्ञासा राखेका थिए । त्यसैगरी निजीक्षेत्र र सरकारबीच हातेमालो गरी अगाडी बढ्ने बताएका छन् ।
पहलका अध्यक्ष कुशकुमार जोशीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सिर्जित संकटपूर्ण अवस्थाले निजीक्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्पप्रायः भएको बताउँदै अविलम्व एकीकृत राहतका कार्यक्रम ल्याई अर्थतन्त्र चलायमान बनाउनेतर्फ पहलका तर्फबाट सरकारको ध्यानाकर्षण गराएका छन् ।
मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै करीब दुई दशकदेखि क्रियाशिल पहले यसका अतिरिक्त कार्यस्थल सम्बन्धी प्रकाशन लगायत अन्य सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र भविष्यमा पनि आफनो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइने बताए । साथै बन्द भएका उद्योग व्यवसायहरू सुरक्षित तरिकाले पूर्ववत् अवस्थामा चलाउन सरकारले पनि सहजीकरणको भूमिका खेल्नुपर्नेमा जोड दिए ।
त्यसैगरी पहलका संस्थापक अध्यक्ष पदम ज्योतिले पनि बन्द भएको उद्योग पूर्ण संचालन गर्न सरकार, उद्योगीहरू तथा कर्मचारीहरूसँग सरसल्लाह गरी ठोस ्योजना ल्याउनुपर्ने बताए । पहलका सदस्य तथा सभासद उमेश श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सरकार, उद्योग र मज्दूर संघ कोप्रतिनिधि बसी गहन छलफल गरी के कसरी मजदूरहरूको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा मन्त्री भट्टको ध्यानआकर्षण गराए ।
उपस्थित अन्य पदाधिकारीहरुले यस महामारीबाट पर्ने सम्भावित क्षति न्युनीकरण तथा रोक थामका लागि सरकार, निजी क्षेत्र , नागरीक समाज, राजनैतिक दल, आमजनता तथा समाजका सबै जिम्मेवार पक्षको साझा प्रयास र संकल्पको खाचो औल्याएका छन् ।
