
प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन् ।
सोमबार नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले जन अपेक्षा अनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन् ।
समाजवादी पार्टीकी सांसद रेणु कुमारी यादवले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गर्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उहाँले नेताहरुले ठूला कुरा गरेपनि कोरोना महामारीको संकटसँग जुट्ने हिम्मत नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कोरोनाबाट मृत्यु भएकी महिलाको लास उठाउन पनि सरकारले हिम्मत देखाएन् । स्वयमसेवकले लास उठाएर पशुपति घाँटमा पु¥याए । यहाँ ठूल्ठूलो कुरा गरिरहेका छन् । हाम्रो सरकारले सारा तयारी गरेको छ भनिरहेका छन् । अहिले मधेशमा क्वारेन्टाइन छैन् । मरेपछि कोरोना पुष्टि हुने एकमात्र देश नेपाल हो । विश्वको इतिहासमा एक नम्बर नेपाल हो ।’’
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताउुनभएको छ । आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी थहन छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अबको बजेट रोग र भोकबाट जनतलाई जोगाउनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
उहाँले मजदुर, श्रमिक र विपन्न किसानहरुलाई एक महिनाको ५ हजारका दरले तीन महिनासम्मको १५ हजार रुपैयाँ दिनुपर्ने बताउनुभयो । छिटो प्रतिफल दिनेगरी योजनाहरु सम्पन्न गर्न सरकारको ध्यान केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या कुटनीति पहलबाट समामाधान गर्नुपर्ने र सो कुरा संसदमा जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी राजापाका सांसद सरतसिंह भण्डारीले महामारी रोकथाम भन्दापनि नयाँ रेकर्ड कायम गर्ने भूत सरकारमा सवार भएको बताउनुभयो । नीति तथा कार्यक्रममा महामारी रोकथाम, नियन्त्रण र यसबाट प्रभावित क्षेत्रहरुका विषयमा आउनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुला हुने बताउनुभयो । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै कृषिलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।