मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन


  • माउन्टेन खबर
  • शुक्रबार, असार २६, २०७७
  • 552
    SHARES

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ । आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो ।

यतीले आफ्नो भगिनी संस्था तारा एयर मार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको थियो ।

यती एयरलाइन्सले यसअघि पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लाइसेन्स लिएको थियो । विसं २०६३ मा ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको यति एयरलाइन्सले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्सकोनाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको  छ । अहिले कम्पनीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयले जनाएको छ।

मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर्ड उडानका लागि मात्रै इजाजत मागेको छ । इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहेका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।समितिमा नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आमन्त्रित विज्ञ सदस्य रहनेछन् । उक्त समितिले सम्पूर्ण कागजातको अध्ययन गरी मूल्याङ्कनको आधार किटान गर्नेछ ।

समितिले सातदेखि १५ दिनभित्र इजाजतबारे टुङ्गो लगाउनेछ । मन्त्रालयबाट इजाजत प्राप्त भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमति एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्ने हुन्छ । सहसचिव आचार्यको अध्ययन कमिटिले साउनको शुरुदेखि मूल्याङ्कन प्रक्रिया अघि बढाउने छ । यतीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा पुरानो श्री एयरलाइन्सको इजाजतजस्तै यात्रु र कार्गो चार्टर्डको लागि निवदेन दिएको हो ।

निकट भविष्यमै सञ्चालनमा आउने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकका अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने गरी यतीले उडान अनुमतिको प्रक्रिया अघि बढाएको बुझिएको छ । आगामी डिसेम्बरभित्र निर्माण सकिने गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रूत गतिमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ ।

नेपालमा अहिले निजी क्षेत्रका यती सहित बुद्ध एयर र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत लाइसेन्स पाएका छन् । यीमध्ये श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन । छोटा गन्तब्यमा चार्टर्ड र कार्गो उडान गर्दै आएको छ । यी कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् । बन्दाबन्दीको अवधिमै पनि बुद्धले बङ्गलादेश र यतीले सिङ्गापुर र अफ्रिकी मुलुक सुडानमा चार्टर्ड उडान गरेको थियो । बुद्धले यसअघि भारतको बनारस र कोलकात्तामा व्यावसायिक उडान गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)