पोखरा। सरकारले साउन १५ देखि होटल सञ्चालनकाका लागि अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी यसको तयारीमा लागेका छन् ।
करिब ४ महिना लामो लकडाउनपछि होटल व्यवसाय खोल्ने सरकारको निर्णयसँगै यस क्षेत्रका सम्बद्ध व्यवसायीले होटल सञ्चालनको आन्तरिक तयारी थालेको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।
लामो समयको बन्दले होटलको आन्तरिक मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापनको पक्षलाई प्राथमिकतामा राखेर होटल सञ्चालनको पूर्व तयारी गरिएको संघले जनाएको छ ।
पोखरामा करिब ७०० पर्यटकीय होटल रहेको र तीमध्ये संघमा आबद्ध ४०० होटललाई सञ्चालनको तयारीमा जुट्न भनिएको संघले जनाएको छ । अहिले ‘अफ सिजन’ भएकाले अक्टोबर नोभेम्बर पर्यटकीय मौसमका लागि कसरी अगाडि बढ्ने र पर्यटकलाई कसरी भित्र्याउने भन्ने रणनीति पनि तय गरिने भएको छ ।
पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रर्वद्धन लगायतका विषयमा केन्द्रित रहने संघले जनाएको छ ।
पोखरामा होटल तथा रिसोर्ट ७०० रहेको त्यसमा होटल तथा रिसोर्टको आफ्नै लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब छ भने १२ हजार २९८ ले रोजगारी पाएका छन् । त्यसैगरी रेष्टुरेन्ट तथा बारमा १ अर्ब आफ्नो लगानी र ३ अर्ब बैंकको लगानी रहेको छ भने १ हजार ५०० ले रोजगारी पाएको संघले जनाएको छ।।
