काठमाडौँ, २० भदौ । बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजना तथा सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा आज बाफलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लबका अध्यक्ष दिपक वंशलले जानकारी दिनुभयो ।
पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेको बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वान समेत गरेको छ ।
क्लबका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । सो अवसरमा युवा सुभम चचान र उत्कर्ष बंशलले पहिलोपटक रक्तदान गरेका थिए ।
एकमहिना पहिले उक्त क्लबले सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेको थियो । २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लबले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।



