वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाको तोकिएको चारकिल्लाभित्र पाँच वा सोभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज निषेधाज्ञा आदेश जारी गर्दै आज साँझ ५ बजेदेखि भोलि शुक्रवार बिहान ६ बजेसम्म उक्त आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम वीरगञ्ज महानगरपालिकाको चारकिल्लाभित्र पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको हो। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वी सीमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलोत्तमा पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।