शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्ध आशा जगाउने यी ७ भ्याक्सिन !


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 236
    SHARES
  • विश्व स्वास्थ्य संगठनको दाबी- सातवटाको तेस्रो परीक्षण हुँदैछ, यसै वर्षको अन्त्यसम्म उपलब्ध हुनेछ

काठमाडौं ,१ असोज। कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रूपमा फैलिएको ६ महिना पुगिसकेको छ । नेपालसहित धेरै देशमा संक्रमण अझै फैलँदो अवस्थामा छ । संक्रमण घटेको देशमा पनि भाइरस पूर्णरूपमा हटिसकेको छैन । कोरोना भाइरस संक्रमण फैलावट रोक्न भ्याक्सिन नै अन्तिम उपाय देखिएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणका लागि विभिन्न देशले औषधि कम्पनीसँगको सहकार्यमा काम पनि गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार हाल एक सय ६९ भन्दा बढी भ्याक्सिन निर्माणको चरणमा छन् । जसमध्ये २६ वटा भ्याक्सिन मानव शरीरमाथिको परीक्षणमा छन् । न्युयोर्क टाइम्सले भने ३८ वटा भ्याक्सिन मानव शरीरमाथिको क्लिनिकल परीक्षणमा रहेको दाबी गरेको छ ।

यति बेला महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध भ्याक्सिन कहिले तयार होला भन्ने चासो सर्वत्र छ । कुनै पनि रोगविरुद्ध भ्याक्सिन निर्माण प्रक्रिया वर्षौं लामो हुन सक्छ । विश्वभरका फरक वातावरण र फरक शारीरिक अवस्थाका साथै स्वस्थ्य मानिसले पनि प्रयोग गर्ने भएका कारण भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी बनाउन धेरै प्रयास गरिएको हुन्छ । यसको परीक्षण नै विभिन्न चरणमा धेरै मानिसमा गरिन्छ । ती परीक्षणमा सुरक्षित देखिए मात्रै भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि प्रमाणित गरिन्छ । यसैकारण औषधिमध्ये भ्याक्सिन सबैभन्दा सुरक्षित मानिएको हो ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गर्ने प्रयास गत जनवरीबाटै सुरु भएको हो । मानव शरीरमाथि पहिलो परीक्षण भने मार्चमा भएको थियो । त्यसमध्ये धेरै भ्याक्सिन अन्तिम चरणको परीक्षणमा पुगेका छन् । रुसले ‘स्पुतनिक फाइभ’ भ्याक्सिनलाई मान्यता दिइसकेको छ । कोभिड संक्रमण फैलिएको चीनमा दुई फरक–फरक कम्पनीले सरकारी निकायसँगको समन्वयमा निर्माण गरिरहेको दुई भ्याक्सिनको अन्तिम चरणको परीक्षण गरिएको छ । ती भ्याक्सिन केही देशमा प्रयोगका लागि चीन सरकारबाट अनुमति पाइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार मात्रै कोरोना भाइरसविरुद्धको भ्याक्सिन आगामी केही सातामै तयार हुने बताएको ब्लुमबर्गले उल्लेख गरेको छ । केही भ्याक्सिनमाथि देखिएको प्रगति र शक्तिराष्ट्रका सरकार प्रमुखले दिएको अभिव्यक्तिले भाइरस संक्रमणबाट आक्रान्त बनेको विश्वले नै राहत महसुस गरेको छ । हाल निर्माण भइरहेकामध्ये अन्तिम चरणको परीक्षणमा रहेका केही भ्याक्सिनको अवस्था प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।

१. एमआरएनए–१२७३

माडोना, अमेरिका तेस्रो चरणको परीक्षणमा

अमेरिकाको म्यासाचुट्सस्थित माडोना कम्पनीले गत जनवरीबाटै कोरोनाविरुद्धको भ्याक्सिन निर्माण थालेको हो । माडोनाको प्रयासलाई त्यहाँको राज्य सरकारले आर्थिक सहयोग गरेको छ । सरकारबाट भ्याक्सिन निर्माणका लागि माडोनाले सुरुवातमै एक अर्ब डलर सहयोग प्राप्त गरिसकेको छ । राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा माडोनाले भ्याक्सिन निर्माण गरिरहेको हो । सुरुवाती परीक्षणमा माडोनाले निर्माण गरिरहेको भ्याक्सिनले बाँदरलाई कोरोना भाइरसबाट बचाएको थियो । माडोनाले गत मार्चमै भ्याक्सिन मानव शरीरमा परीक्षण गरेको थियो । त्यो परीक्षणमा पनि नतिजा सकारात्मक देखिएको कम्पनीले दाबी गरेको छ । यो भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणमा छ । गत २७ जुलाईबाट भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु भएको हो । यो परीक्षणमा विभिन्न ८९ ठाउँमा ३० हजार स्वस्थ मानिस सहभागी छन् । माडोनाले भ्याक्सिन निर्माण पूरा हुनुअघि नै बिक्रीका लागि सम्झौतासमेत गरिसकेको छ । भ्याक्सिन निर्माण सफल भए अमेरिका सरकारले एक सय मिलियन डोज किन्न माडोनालाई ११ अगस्टमा १।५ मिलियन डलर दिएको छ ।

२. स्पुतनिक फाइभ (गाम–कोभिड–भाक)

गमलेया रिसर्च इन्स्टिच्युट, रुस
तेस्रो चरणको परीक्षणसँगै प्रयोगका लागि रुसी सरकारबाट अनुमति प्राप्त रुसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको गमलेया रिसर्च इन्स्टिच्युटले उत्पादन गरेको यो भ्याक्सिन अन्तिम चरणमा पुगेको छ । दुई एडिनोभाइरस ९एडी–५ र एडी–२६० मिलाएर बनाइएको ‘स्पुतनिक फाइभ’ नाम दिइएको भ्याक्सिनलाई रुस सरकारले प्रयोगका लागि अनुमतिसमेत दिइसकेको छ । गत ११ अगस्टमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन प्रयोगका लागि अनुमति दिइएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण अझै जारी छ ।

भ्याक्सिन निर्माण गर्ने प्रक्रियामा आवश्यकभन्दा निकै कम संख्यामा परीक्षण गरेको र परीक्षण पूरा नहुँदै प्रयोगका लागि अनुमति दिइएको भन्दै केही विज्ञले रुसको निर्णयको विरोध गरेका छन् । रुसले आफूले पहिलेबाटै गरिरहेको परीक्षणको आधारमा यो भ्याक्सिन निर्माण गरेको जवाफ दिएको छ । साथै, अहिलेसम्म गरिएको परीक्षणबाट भ्याक्सिन प्रयोग गर्नु सुरक्षित देखिएको रुसको भनाइ छ । रुसले विरोधकै ब्राजिल, मेक्सिकोलगायत देशमा भ्याक्सिन उपलब्ध गराउने सम्झौतासमेत गरिसकेको छ ।

३. एडी ५–एनकोभ भ्याक्सिन

क्यान्सिनो, चीन तेस्रो चरणको परीक्षणसँगै चिनियाँ सेनामा प्रयोगका लागि अनुमति प्राप्त
चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले एडिनो भाइरस ९एडी–५० मा आधारित भ्याक्सिन निर्माण गरिरहेको छ । चीनको मिलिटरी मेडिकल साइन्स एकेडेमीसँगको सहकार्यमा क्यान्सिनोले निर्माण गरिरहेको यो भाइरस तेस्रो चरणको परीक्षणमा छ । तेस्रो चरणको परीक्षण पूरा नहुँदै चीनको सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ । गत मेमा पहिलो चरणमा भ्याक्सिनको सुरक्षासम्बन्धी गरिएको परीक्षणमा धेरै राम्रो नतिजा आएको कम्पनीले जनाएको छ । गत जुलाईमा गरिएको दोस्रो चरणको परीक्षणमा पनि भ्याक्सिनले आवश्यकताअनुसार रोगप्रतिरोधात्मक क्षमता बढाएको पाइएको दाबी गरेको छ । क्यान्सिनोले साउदी अरेबिया, पाकिस्तानलगायत देशमा पनि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

४. कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन 

सिनोभाक बायोटेक, चीन सीमित क्षेत्रमा प्रयोगको अनुमति प्राप्त
चीनको निजी कम्पनी सिनोभाक बायोटेकले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । उसले निर्माण गरिरहेको भ्याक्सिनलाई कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन नाम दिइएको छ । यो भ्याक्सिन केही ठाउँमा तेस्रो चरणको परीक्षणसमेत सकिएको छ र चीन सरकारले सीमित क्षेत्रमा प्रयोगका लागि अनुमति दिएको छ । कम्पनीले गत जुनमा सात सय ४३ जनामा भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षण गरिएको जनाएको थियो । जसमा कुनै गम्भीर खालको ‘साइड इफेक्ट’ नदिएको र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरेको पाइएको कम्पनीले जनाएको थियो । त्यसपछि कम्पनीले गत जुलाईमा ब्राजिल र त्यसलगत्तै इन्डोनेसियामा तेस्रो चरणको परीक्षण गरेको थियो । चीन सरकारले गत जुलाईमै सीमित ठाउँमा भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको रोयटर्सले उल्लेख गरेको छ । सरकारबाट मान्यता प्राप्त गरेसँगै सिनोभाकले भ्याक्सिन उत्पादन गर्न थालिसकेको छ । कम्पनीले आगामी २०२१ को मार्चसम्ममा इन्डोनेसियामा ४० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको न्युयोर्क टाइम्सले जनाएको छ ।

५. न्यु क्राउन कोभिड–१९ भ्याक्सिन

वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट, चीन तेस्रो चरणको परीक्षणमा
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरेको यो भ्याक्सिन परीक्षणको जिम्मा चीनको सरकारी कम्पनी सिनोफार्मले लिएको छ । यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणले राम्रो संकेत देखाएको छ । भ्याक्सिनले शरीरमा ‘एन्टिबडी’ निर्माण गरेको पाइएको छ । परीक्षणमा सहभागी केही स्वयंसेवीमा ज्वरो आउने र अरू सामान्य खालका साइड इफेक्ट मात्रै देखिएका छन् । यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गत जुलाईमा संयुक्त अरब इमिरेट्स ९युएई०मा गरिएको थियो । त्यसपछि पेरु र मोरोक्कोमा तेस्रो चरणको परीक्षण गरिएको थियो । सिनोफार्मले यही वर्ष ९२०२०० को अन्त्यसम्ममा सर्वसाधारणको प्रयोगका लागि भ्याक्सिन तयार हुने जनाएको छ ।

६. बिबिआइबिपी–कोर्भी

सिनोफार्म, चीन तेस्रो चरणको परीक्षणमा
चीनको सरकारी निकाय सिनोफार्मले अर्को भ्याक्सिनको पनि परीक्षण गरिरहेको छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निष्क्रिय पारिएको भाइरसलाई प्रयोग गरी निर्माण गरिएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ । सिनोफार्मले वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरेको भ्याक्सिनसँगै बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरिरहेको यो भ्याक्सिन दुवैको तेस्रो चरणको परीक्षण युएईसँगै गरिरहेको छ । दुवै भ्याक्सिनको परीक्षणमा युएईमा पाँच–पाँच हजार स्वस्थ्य व्यक्ति सहभागी भइरहेका छन् । दुवै भ्याक्सिन प्रयोगका लागि चीन सरकारले अनुमति दिइसकेको सिनोफार्मले जनाएको छ ।

७. बिसिजी लाइभ एटिनउटेड भ्याक्सिन

मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट, अस्ट्रेलिया तेस्रो चरणको परीक्षणमा 
अस्ट्रेलियाको मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटले यसअघि नै बनेको पुरानो भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने उद्देश्यका लागि परीक्षण गरिरहेको छ । बेसिलस कल्मेटी गुइरिन नामक भ्याक्सिन सन् १९०० को सुरुवाततिर निर्माण भएको हो । त्यस बेला यो भ्याक्सिन क्षयरोगविरुद्ध प्रयोग गरिएको थियो । कम्पनीले यही भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध पनि प्रयोग गर्ने गरी तेस्रो चरणको परीक्षण गरिरहेको हो । कम्पनीले अस्ट्रेलियामै यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिरहेको हो ।

दोस्रो र तेस्रो चरणको संयुक्त परीक्षण भइरहेका भ्याक्सिन

१. जर्मन कम्पनी बायोनटेकले अमेरिकाको कम्पनी फिजर, चिनियाँ औषधि कम्पनी फोसुनसँगको सहकार्यमा निर्माण गरिरहेको भ्याक्सिन एमआरएनएको संयुक्त रूपमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको छ । निर्माता कम्पनीहरूले अहिलेसम्मको सबै परीक्षणमा यो भ्याक्सिनले राम्रो नतिजा दिएको जनाएका छन् । अमेरिका, अर्जेन्टिना, ब्राजिल र जर्मनीमा गरी ३० हजार स्वस्थ मानिसमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको भ्याक्सिन कम्पनीले जनाएका छन् । फिजर र बायोनटेकले १२ सेम्टेम्बरमा अमेरिकामा भइरहेको परीक्षणलाई बढाएर ४३ हजारमा पुर्‍याउने जनाएको छ । अमेरिकाले आगामी डिसेम्बरसम्म एक सय मिलियन डोज भ्याक्सिन उपलब्ध गराउन १।९ बिलियन डलरको सम्झौतासमेत दिइसकेको न्युयोर्क टाइम्सले जनाएको छ । यस्तै, जापानले एक सय २० मिलियन डोज र युरोपियन युनियनले दुई सय मिलियन डोज भ्याक्सिन किन्न निर्माता कम्पनीसँग सम्झौता गरिसकेको छ ।

२. ब्रिटिस–स्विडिस कम्पनी अस्त्रजेनेका र बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डले मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पनि दोस्रो र तेस्रो चरणको संयुक्त परीक्षण भइरहेको छ । चिनपान्जी एडिनोभाइरस प्रयोग गरी बनाइएको यो भ्याक्सिन सफल बन्ने अपेक्षा गरिएको छ । यद्यपि, तेस्रो चरणको परीक्षणमा सहभागी एक स्वयंसेवी बिरामी परेपछि केही समय रोकेर परीक्षणलाई फेरि अघि बढाइएको छ । भ्याक्सिन निर्माणका लागि अमेरिकी सरकारले पनि १।२ बिलियन डलर रकम सहयोग गरेको छ । यो भ्याक्सिनको बेलायत र भारतमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको छ । ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकामा भने तेस्रो चरणको परीक्षण भइरहेको छ । युरोपियन युनियनले भ्याक्सिन सफल भएको अवस्थामा चार सय मिलियन डोज किन्ने गरी सम्झौता गरेको छ । एजेन्सीको सहयोगमा । (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }