काठमाडौँ, ९असोज ।.
राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलको व्यवसायलाई चलायमान बनाउन रात्रीकालिन व्यवसाय सञ्चालन गर्न माग गरेका छन् ।
ठमेल पर्यटन विकास परिषद्को टोलीले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।
परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेका रात्रिकालिन मनोरञ्जन व्यवसाय स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी खोल्ने वातावरण मिलाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
परिषद्को टोलीले मन्त्री भट्टराईसँगै, बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायतलाई भेटेर ठमेल क्षेत्रको पर्यटन क्षेत्रलाई चलायमान बनाउने वातावरण सृजना गर्न आग्रह गरिसकेका छन् ।
भेटमा मन्त्री भट्टराईले खोल्न बाँकी रहेका व्यवसाय सञ्चालनका लागि कोभिड–१९ सम्बन्धि उच्चस्तरिय समितिको बैठकमा छलफल गरेर निर्णय लिने बताउनुभएको थियो ।
