बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २३, २०७७
  • 1.5K
    SHARES

दमौली। महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।

दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको काँग्रेसका युवा नेता चाम थापाले बताउनुभयो । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई÷तीन सयको हाराहारीमा पर्यटक आउँथे ।

यो वर्ष दशैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ”, उहाँले भन्नुभयो । मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।

समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्रि जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।

घुम्न आउँदा पर्यटकलाई कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष मोहनकुमार श्रेष्ठले अनुरोध गर्नु भयो । “कोरोनाका कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन । सकभर कमै हिँड्नुस्”, उहाँले भन्नुभयो ।

तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए ।

शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)