सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यती एयरलाइन्सको पर्वतीय उडानमा यात्रुहरुको आकर्षण बढ्दो

आजदेखि यतिको सिमराबाट पनि पर्वतीय उडान शुरु


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २७, २०७७
  • 1.1K
    SHARES

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी ८८ वर्षीया गङ्गामाया पौडेललाई जीवनमै पहिलो पटक जहाज चढेर हिमालको दृश्यावलोकन गर्दा औधि रमाउनुभयो । उहाँमा  खुशीको सीमा रहेन । जहाजको पहिलो यात्रा यसमा पनि मनमोहक हिमाली दृश्यावलोकन ।  उहाँ कम्ति  फुरुङ्ग पर्नुभएन । उहाँले आफ्नो जहाज यात्रा जीवनकै अविष्मरणीय क्षण भएको अनुभव सुनाउनुभयो ।

“जहाजबाट हिमाललाई नजिकै देख्न पाउँदा मलाई असाध्यै खुशी लागेको छ,  खुशीको बयान गर्ने शब्द नै छैन”, उहाँले भन्नुभयो । आफ्नै आँगन, बारी, पाखा पखेराबाट देखेको उत्तरतर्फ टलक्क टल्किने हिमालको चुचुरो नजिकबाटै दृश्यात्मक साक्षात्कार गर्न पाउँदा उहाँलाई खुशीको सीमा नै थिएन । सगरमाथा क्षेत्र नजिकै पुग्दा जहाजले उचाई लिँदा र मोडिँदा हावाको बेगले जहाज निकै हल्लियो तर पनि गङ्गामायालाई कुनै डर लागेन । उहाँले अगाडि थप्नुभयो, “जहाज हल्लिँदा डर लागेन, मलाई त मज्जा पो लागो, अहिले ज्वाइँले ल्याइदिनुभो, “फेरि पनि अवसर मिल्यो भने चढिन्छ ।” गङ्गामायासहित १६ जनाको समूह एकैपटक पर्वतीय उडानका लागि शुक्रबार सिन्धुपाल्चोकबाट गाडी चढेर काठमाडौँ आएको थियो ।

काठमाडौँकी ७० वर्षीया चन्द्रमाया पाठकलाई पनि पहिलो पटकको पर्वतीय उडान अविष्मरणीय रह्यो । “जहाज यात्रा त्यो पनि पर्वतको उडान जीवनकै अविष्मरणीय क्षण बन्यो ”, उहाँले भन्नुभयो ।

गङ्गामाया र पाठक जस्तै ६० भन्दाबढी यात्रुले शनिबारको पर्वतीय उडानमा आनन्दमय अनुभूति बटुले । यो अवसर जुराइदिएको थियो यती एयरलाइन्सको पर्वतीय उडानले । सगरमाथाको आकाशयात्राका रोमाञ्चकारी दृश्यले उनीहरुलाई मोहित तुल्यायो । टिकट एक खरिदमा अर्को सित्तैमा पाइने, जहाज चढेर हिमाल हेर्न पाइने भएपछि फुरुङ्ग मन लिएर आकाश यात्रामा नजाने कुरै भएन ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ठीक ८ बजे उडेको एयरलाइन्सको एटिआर–७२ जहाजले लाङ्टाङ हुदैँ गौरीशङ्करको बाटो भएर सर्वोच्च शिखर सगरमाथा पुगी मकालु हिमाललाई फन्को लगाएर पुनःकाठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । पर्वतीय उडानको समय बिहान ७ बजेदेखि हुने भए पनि आज मौसम खराबीका कारण एक घण्टा ढिलोगरी उडान भएको थियो । करिब ४५ मिनेटको आकाश यात्रको मुख्य उद्देश्य सगरमाथासहितका हिमश्रृङ्खलाको नजिकबाट दृश्यावलोकन गर्नु ।

शनिबारको आकाशयात्रा काठमाडौँ विमानस्थललाई छोडेर जहाज गणेश हिमालतिर मोडियो । जहाजका क्याप्टेन लभिस चन्दले जहाजको दिशा र गतिबारे यात्रुलाई जानकारी गराउनुभयो । विमान परिचारिका (एयरहोस्टेज) विनिता केसी र शशि तिवारीलाई हिमालका बारेमा यात्रुलाई जानकारी गराउन भ्याइनभ्याइ थियो ।

दोलखाका दीपक ओलीले जहाज यात्रा त थुप्रै गर्नुभएको रहेछ तर पर्वतीय उडान भने पहिलो नै रे । सानी छोरीका साथ पर्वतीय उडानमा निस्कनुभएका ओलीले आफ्नो देशको सुन्दरताको नजिकबाट अवलोकन गर्न पाउँदा असाध्यै खुशी मिलेको बताउनुभयो ।

अध्ययनको शिलशिलामा डेनमार्क बसोबास गर्ने शिशिर भण्डारी दिदीको बिहेका सन्दर्भमा केही समयअघि काठमाडौँ आउनुभएको थियो । आन्तरिक पर्यटकलाई लक्षित गर्दै एयरलाइन्सले अफरसहित पर्वतीय उडान सञ्चालन गरेको थाहा पाएपछि पर्वतीय उडानको मज्जा लिएर मात्रै विदेश फर्कने निधो गर्नुभयो र शनिबारको पर्वतीय उडानको अनुमति लिनुभयो । सिरहा बस्ने भिनाजु डा राजदेव यादवको साथमा पर्वतीय उडानमा जानुभएका भण्डारीले भन्नुभयो, “जहाज त धेरै चढियो आफ्नै देशको पर्वतीय उडानको अनुभव लिन पाएको थिइन, अहिले एयरलाइन्सको सस्तो अफर रहेकाले पनि उडानमा आएको हुँ देशको प्राकृतिक सुन्दरताको बयान गरी साध्य छैन ।”

लाङ्टाङ रेञ्जबाट जहाज अगाडि बढ्दै गर्दा झन सेता हिमालको नजिकतिर पुगियो । बाक्लो बादल तथा हिमपातका कारण सगरमाथा राम्रोसँग खुलेको थिएन । सगरमाथाको आधा भाग मात्र देखियो । अरु हिमाल छर्लङ्ग थिए । जहाज गोसाइथान चुचुरो नजिक हुँदै दोर्जेलाक्पा, गौरी–शङ्कर हिमाल स्पष्ट देखियो । क्रमशः नुम्बर, चोयु, पुमोरी हुँदै सगरमाथा हिमाल नजिक पुगेर ल्होत्से अमादब्लम हुँदै मकालु हिमालसम्म पुगेर जहाज पुनःकाठमाडौँ फर्किएको थियो ।

सगरमाथाको उचाई बढेसँगै आज पहिलो पर्वतीय उडान पनि हो । सरकारले आफ्नै स्रोत साधन र जनशक्तिबाट पहिलो पटक सगरमाथाको उचाई मापन गरी यही मङ्सिर २३ गते सगरमाथाको नयाँ उचाई आठ हजार ८४८.८६ मिटर भएको घोषणा गरेको थियो । नेपाल सरकार र चीन सरकारले संयुक्तरुपमा सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् ।

बन्दाबन्दीको करिब आठ महिनापछि गत मङ्सिर २० गतेदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण पर्वतीय उडान बन्द थियो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका थिए ।

यतीको आज सिमराको एकसहित चार उडान थियो । तर मौसमले साथ नदिएपछि काठमाडौँबाट मात्र एक उडान भयो । यतीले पहिलोपटक सिमराबाट पनि पर्वतीय उडान शुरु गरेको हो । सिमराको उडानमा २५ यात्रु सहभागी थिए । यात्रुको माग बढेमा पर्वतीय उडानको सङ्ख्या थपिने कम्पनीले उल्लेख गरेको छ ।

यसअघि यतीले क्षेत्रीयरुपमा विराटनगरबाट पर्वतीय उडान शुरु गरेको थियो । सन् २००२ देखि पर्वतीय उडान शुरु गरेको यतीले कोभिडभन्दा अघि दैनिक १० वटासम्म उडान सञ्चालन गरेको थियो । कोभिड महामारीकैबीच अहिले १० महिनापछि कम्पनीले उडान गरेको हो ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र यात्रुको मागबमोजिम उडान सङ्ख्या पनि क्रमशः थपिँदै जाने बताउनुभयो ।

“आजदेखि सिमराबाट पनि पर्वतीय उडान शुरु गरेको छ । त्यहाँका व्यवसायीको मागबमोजिम उडान गरेका हौँ । पर्वतीय उडानमा यात्रुको उत्साहवद्र्धक माग बढेको छ । शुरुमा हामीले हप्ताको एक मात्र उडान गर्ने योजना थियो । यात्रुको माग बढेपछि उडान सङ्ख्या थप्ने योजनामा छौँ”, प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो ।

यतीले हरेक शनिबार पर्वतीय उडान गर्दै आएको छ।  यात्रुको माग बढेमा दैनिक उडान गर्ने  योजना रहेको यति एयरलायन्सले जनाएको छ।छ ।यतीले पर्वतिय उडानका लागि आठ हजार ८४८र र १३ हराज २७५ भाडादर कायम गरेको छ । कम्पनीको पर्वतीय उडानमा एक टिकट खरिदमा अर्को टिकट सित्तैमा पाउने अफरले यात्रु बढेको एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)