मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कठ्याग्रिँदो जाडो र शीतलहरका कारण मध्यतराईको जनजीवन थप कष्टकर बन्दै


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 725
    SHARES
रौतहट, ४ माघ । कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो ।
बाक्लो हुस्सुका कारण सवारीसाधनलाई आवतजावत गर्नसमेत समस्या भएको छ । एक्कासी बाक्लो हुस्सु लागेपछि सवारीसाधन चलाउन चालकलाई समेत समस्या भएको छ ।
शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिएको गौर अस्पतालका डा कृष्णा साहले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणसँगै चिसोका कारण निमोनिया र कोल्ड डायरीयाका बिरामीको सङ्ख्या बढन सक्ने हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन, तातो, झोलिलो पदार्थ सेवन गर्न, सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
बाक्लो हुस्सुका कारण बिहान र रातको समयमा गौर, चन्द्रपुर, कलैया, वीरगञ्ज भित्रिने तथा बाहिरिने सवारीसाधनका चालक तथा यात्रुलाई समस्या भएको छ ।
बाक्लो हुस्सुका कारण बाटोसमेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बाँच्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकलाई आग्रह गरेको छ । साथै चिसोका कारण विद्यालय तथा कलेजको पठनपाठनसमेत प्रभावित भएको छ ।
कोरोना सङ्क्रमणको कारण झण्डै आठ महिनापछि खुलेका विद्यालय तथा कलेजमा जाडोका कारण विद्यार्थीको सङ्ख्या न्यून रहेको स्थानीय विद्यालय तथा कलेजका प्रधानाध्यापकले जनाएका छन् ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौँको सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलका उडानसमेत बाक्लो हुस्सुका कारण प्रभावित भएका छन् । कुहिरो लागेका कारण पटकपटक गरी बिहानका केही उडान ढिलो हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराका उपप्रबन्धक सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।
जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन केन्द्रले स्थानीय पालिकाको समन्वयमा नगरपालिका र गाउँपालिकाका विभिन्न चोकमा आगो बाल्ने व्यवस्था मिलाएको छ । सत्तरी वर्षभन्दा माथिका विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
जाडो बढेसँगै रौतहट, बारा, पर्साका ग्रामीण क्षेत्रमा चोक गल्लीमा आगो तथा घुर बालेर ताप्नेको सङ्ख्या बढ्दै गएको छ । स्थानीय बासिन्दाले तत्काल दाउराको व्यवस्था गर्न सम्बन्धित पालिका तथा प्रशासनसँग नागरिक समाजका अध्यक्ष जगरनाथ केशरीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }