४ फागुन, जेनेभा । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त हुनुभएको छ । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लुटिओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ ।
व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उहाँले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताउनुभएको छ । नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँलाई डब्लुटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए ।
लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । महानिर्देशक पदमा विजयी भएसँगै उहाँले भन्नुभयो, “कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तिब्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटिओ निकै महत्वपूर्ण छ ।”
उहाँले डब्लुटिओका सामुन्ने धेरै चुनौतीहरु रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताउनुभयो । ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्नु हुनेछ र उहाँको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ ।
