सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टाढा उडेकी चरी -कविता


  • निशा अर्याल, ईजरायल
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • 807
    SHARES
टाढा उडेकी चरी
आमाको मन शान्त बन्छ कहिले? तन्द्राहरू लम्बिए
आफ्नै भाव बगेर दिब्य मुटुमा ज्वालाहरू दन्किए
उच्चाकाश उडेर हेर्दछ चरी आफ्नै पुरानो घर
साझा फूल र पालुवा सहितको संसारको सागर ।१।
कैयौं बाग डुलेर खोज्छ रसिला दाना मिठा केवल
गर्दै याद जहानको र गुडको शौभाग्य रूपी फल
खोज्दै शान्तिपना बुनेर सपना निन्द्रा बन्यो खण्डित।
मीठो कण्ठ सुनाउदै भुवनमा सङ्गीतमा सिन्चित ।२।
यात्रा जीवनको छ निश्चित सबै हिड्छन् उही मार्गमा
साथी बन्धु जहान वैभव तथा सत्कर्मका साथमा
सिङ्गो खेल जुवा समान कहिले हार्दै र जित्दै हकि
आत्मा मात्र रहन्छ शुद्ध जडझै संघारमा जिन्दगी ।३।
को होला र अजम्बरी सकल यो संसारको सृष्टिमा
आत्मा मात्र समान हुन्छ जगमा देवत्वको दृष्टिमा
माटोमा गतिसाथ त्यो समयको मिल्छौ अवस्यै भनि
राम्रा कर्म र दिब्य श्रृष्टी रचना मेटिन्न कैल्है पनि ।४।
प्यारो आर्थिक घार भित्र रहने इच्छा अनेकौ थिए
मीठा स्वप्नहरू बनेर शिशुको उद्धार गर्ने भए
यस्तै सोच लिएँ विदेश उनिएँ पीडा हजारौं थिए
सारा कष्ट बिछोड आज भुलिएँ गन्तव्य अर्कै लिएँ ।५।
हेर्दै नित्य जहानका र घरका ती पीर चिन्ताहरू
शिक्षा,स्वास्थ,निवास पूर्ण बनियोस् कामना छन् अरु
पेशा योग्य बनोस् र शिक्षित बनी आऊन् खुशीका दिन
भन्ने मात्र छ कल्पना हृदयमा सम्झन्छु यै छिन्छिन् ।६।
आयो फोन लिएर आर्थिक पिडा आशा बढाईकन
आमा शब्द पुकारमा मनमनै क्यै शान्ति होला झन
आमाको गति के छ ?छन् कति पिडा? काडा हजारौ सरी
गर्छिन् दूर विदेशमा सयल वा? बस्छिन् बिलौना गरि? ।७।
नौला ती सब ज्ञानसीप सहितै बेग्लै छ भाषा तक
नौलो लाग्दछ खानपान नरुची आँखा हुने तप्तप
चारा खोज्न बिदेश दूर पहुँचे छन् दु:ख नानाथरी
सम्झी फर्किन खोज्छ आज गुडमा टाढा उडेकी चरी ।८।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)