नेपालगञ्ज ,२३ फागुन। नेपालगञ्जमा जारी प्रधानमन्त्र कप महिला राष्ट्रिय प्रतियोगितामा आइतबार विभागीय टोली एपिएफ र होङ्गान्जी न्यु डायमन्ड क्लबले जित निकालेका छन् ।
नेपालगञ्जको कभर्डहलमा सोमबार भएको दिनको पहिलो खेलमा एपिएफले लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दा अर्को खेलमा न्यु डायमन्डले अर्को विभागीय टोली आर्मीमाथि ३–१ को जित निकालेको हो ।
एपिएपले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा हराएको थियो । कमजोर लुम्बिनीमाथि सहज जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । यस अघि पहिलो खेलमा आर्मीको चुनौतिलाई समाप्त पारेको थियो ।
यस्तै अर्को खेलमा न्यु डायमन्डले आर्मीमाथि लगातारका दुई सेटमा २५–१८, २५–२१ को जित निकालेको थियो । तेस्रो सेट २३–२५ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत देखाएको थियो । चौथो सेटमा न्यु डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पार्दै बलियो आर्मीमाथि रोमाञ्चक जित निकाल्न सफल भएको हो । जितसँगै न्युडायमन्डले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ भने आर्मीले लगातारका दुई खेलमा पराजय भोगेको छ ।
प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । न्यु डायमन्डले एपिएफको सामाना गर्दा अर्को खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
