थोत्रो छाता
आज बर्षौ पछि यो तिमीले
दिएको छाता
निकालेर एकतमास हेरिरहे
बाहिर दिनभरी झरी परिरह्यो
मलाई भने यो थोत्रो छाता
ओल्टाई पल्टाई
हेरिरहन मात्रै मन लाग्यो ।
साँच्चै छाता जस्तो पो कँहा छ र यो !
करंग सबै भाँचिएको कपडा सबै
च्यातिएको लथालिङ्ग धुलै धुलो
तर पनि धुलो टकटकाउदै निकाले ।
त्यो दिन यो छाता मुनि तिमी र म
भिज्न त नभिजेको कँहा हो र निथ्रुक्कै !
के ओत दिन्थ्यो र यत्ति सानो छाता ले
तर तिमी संगै त भिज्नु मा पनि कति
न्यानोपन !
तिमीले मलाई दिएको पहिलो उपहार
यो छाता घरमा लिएर जाँदा आमाले
“जसको छाता हो उसैलाई बुझाइदे”भन्दा
हवस् आमा भन्दै लुकाएकी थिए
म सुत्ने खाटमुनी जतनले ।
तिमीले र मैले त्यो झरी मा ओढे पछि
एकपल्ट पनि ओढनै मन लागेन यो छाता
म जँहा जँहा बसाई सरे
म संगै डुलेको छ यो छाता
तिमीले दिएको भन्नु यत्ति त छ
म संग चिनो ।
अरु ले पागल ठान्दा हुन् मलाई
“यस्तो थोत्रो छाता जतन
गरेर राख्ने”
तर मलाई यो जस्तो महँगो
केहि लाग्दैन अरु
मेरो प्यारो थोत्रो छाता ।
-शकुन ज्ञवाली, न्युयोर्क अमेरिका ।
