एजेन्सी ,४ चैत्र। बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी लिओनेल मेसी सफल भएका छन् ।
बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले पछिल्लो खेलमा दुई गोल गरेका छन् । होएस्का विरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए ।
बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्क तालिकामा दोस्रो स्थानमा पुगेको छ । समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ ।
रिेयल मड्रिड भने ५७ अङ्कमा सीमित रहेको छ । सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका मेसीले क्लबबाट १० पटक स्पेनिश लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जित्न सफल भएका छन् ।
