मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारवाही


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 427
    SHARES

१२ चैत्र, डोटी । पछिल्लो केही दिन यतादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेका कारण अहिले रोजगारीका लागि भारत गएका जिल्लाका दर्जनौँ नागरिक घर फर्किन थालेका छन् ।

छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिवार्यरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ ।

डोटीबाट सयौँ नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर गएका र अहिले उनीहरु घर फर्किन थालेका कारण जिल्लामा कोरोनाको जोखिम बढ्ने निकै सम्भावना रहेको भन्दै सचेत हुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । कोभिड–१९ बारे फेरि सतर्कता अपनाउन प्रशासनले एक सार्वजनिक सूचना जारी गरी सबैमा अनुरोधसमेत गरेको छ । उक्त बैठकले छ बुँदे निर्णय गरी कार्यान्वयन गर्न÷गराउन सबैमा आग्रह गरेको छ ।

भारतबाट घर फर्किने व्यक्तिले आफ्नो परिवारजन तथा समुदायको सुरक्षार्थ आफैँ सजग भई तोकिएको न्यूनतम अवधिसम्म क्वारेन्टिन÷सेल्फ आइसोलेशनमा बस्ने, स्वास्थ्यसम्बन्धी कुनै समस्या वा सङ्क्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परामर्श तथा सहायता लिने, होली, नव वर्षलगायतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सीमित सङ्ख्यामा परिवारका सदस्यबीच मात्रै मनाउने, साथै पर्वमा मानिस जम्मा भई गरिने शुभकामना आदान–प्रदान, घरघरमा खेलिने होलीजस्ता सांस्कृतिक कार्यक्रम, नाचगानजस्ता गतिविधि नगर्न÷नगराउन उक्त निर्णयमा उल्लेख गरिएको छ ।

यसैगरी ठूलो सङ्ख्यामा भेला भई गरिने बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न, पूर्वनिर्धारित अत्यावश्यक कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल, रेष्टुरेण्ट, डान्स बारलगायतका मानिसको भीड हुने व्यवसाय राति अबेरसम्म सञ्चालन नगर्ने/नगराउने, सम्पूर्ण कार्यालय, निकाय, सङ्घसंस्था, शैक्षिक संस्थाले दैनिक सेवा प्रवाह एवं कार्य सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने, भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने÷गराउने र कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई नियन्त्रण एवं रोकथामका लागि भीडभाडमा नजाने, सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले बारम्बार हात सफा गर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गरी आफू र अरुलाई सङ्क्रमणबाट बचाउन आग्रह गरिएको छ ।

पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण तथा मृत्युदर बढेसँगै डोटीमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सुरक्षा मापदण्ड अपनाउन आग्रहसहित प्रशासनले सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “कोरोनाबाट जोगिन हामीले सावधानीका लागि आग्रह गरेका छौँ, नियमको पालना नगर्नेलाई सङ्क्रमण रोग ऐनअन्तर्गत कारवाही हुनेछ ।”

नजिकै आइरहेको होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न सूचनामा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)