२७ चैत्र, काठमाडौं । भारतमा कोरोनाभाइरसका कारण हरेक दिन स्थिति बिग्रँदो छ । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि हालसम्म एक दिनमा भेटिएका बिरामीको यो संख्या सर्वाधिक हो । यसअघि बुधबार देशमा सबैभन्दा धेरै १ लाख २६ हजार २७६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
बिहिबार निको हुनेहरुको आँकडा ६१ हजार ८२९ रह्यो । संक्रमणका कारण मृत्यु हुनेको संख्या ८०२ रह्यो । १७ अक्टोबरपछि पहिलो पटक एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । १७ अक्टोबरमा १०३२ बिरामीले ज्यान गुमाएका थिए ।
अब हरेक सयजनामा ९ जना संक्रमित भेटिइरहेका छन्ः
देशमा बिरामी भेटिने संख्या पनि बढेर ९.२१ प्रतिशत भएको छ । अर्थात् हरेक सय व्यक्तिमा ९ जना कोरोना संक्रमित पाइएका छन् । तीन हप्ताअघि अर्थात् ११ देखि १७ मार्चबीच बिरामी भेटिने संख्या ३.११ प्रतिशत थियो ।
अमेरिकालाई पछ्याउँदै भारत, पहिला संक्रमित कम भए त्यसपछि अचानक बढ्न थालेः
कोरोना केसको मामिलामा भारत पनि अब अमेरिकालाई पछ्याउँदै छ । अमेरिकामा पनि अघिल्लो वर्ष अगस्ट र सेप्टेम्बरमा संक्रमितको संख्या तीब्र रुपमा घट्न थालेको थियो तर अचानक अक्टोबरमा यसमा वृद्धि हुन सुरु भयो र डिसेम्बरमा एक महिनाभित्र सर्वाधिक ६३.४५ लाख बिरामी भेटिए ।
