७ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।
प्रदेशसभाको मंगलबार बसेको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौं अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
गत माघ २६ गते शुरु भएको यो अधिवेशनअन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारवाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो । सातौं अधिवेशनमा प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक पारित भएको छ ।
यसैगरी प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ ।
दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको पर्यटनलगायत विधेयक विचारधीन रहेका छन् । अधिवेशनको अन्तिम दिन मंगलबारको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
