मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाल स्वपन संवाद : कविता


  • दीपा राई पुन,बोस्टन, अमेरिका ।
  • आइतवार, बैशाख १२, २०७८
  • 1.5K
    SHARES

हिमाल स्वपन संवाद 

सृष्टि कै उज्यालो ज्योति
औसीमा पनि टिलपिलाई रहेको
संसार कै शिखर चुलीमा
शिरमा सेतो फेटा बाँधेर
आ-आफ्नो थलोमा गर्वले
अस्तित्वबोधले ध्यान मग्न
बुद्दत्व प्राप्त
शान्त र स्निग्ध
मेरा हिमालहरु
पुर्खाले जोगाई राखेको
आदिम सम्झनाको तस्वीर
म साँझ बिहान आँखा मिच्दै हेर्छु

कुनै बेला
म सानो छंदा
कोप्पा भन्नु हुन्थ्यो
बिहानै झुल्केको घाममा
टल्केको हिमाल देखाएर
जीवन त्यसरी बाँच्नु पर्छ
अन्तस्करण प्रज्वोलित भएर
आदिम पुर्खाको बस्ति हो त्यो
जहाँबाट हामी फैलियौ
हेर त नानी
हाम्रो मन हिमाल जस्तै निश्चल छ

समयको चोट खपेर
कयौ चोट सहनलाई
हिमाल हाँसेकै छ हरपल
कसैको उ जीवन भरिको सपना
छातिमा कुल्चिएर आउँछन्
र जान्छन त्यसरी नै
संसार झ्याली पिट्दै
हाम्रो आँगनमा टेकेर
हाम्रो माटोलाई छोएर
हाम्रै भूमिमा खुशी भेट्टाएर
जान्छन अनेकन अनेकन यात्रु

बिपनाका परिदृश्यहरु
दुखेर हृदयभरि
निष्ठुर समयको चुटाईले
हिमाल मौन रोएर
आधामा धेर ग्रहण लाग्दा
उज्यालो खोज्न केटाकेटीहरु
अज्ञात प्रदेश लागेको देख्दा
आफ्नै माटोमा खुशी उमार्ने
कोप्पाको आस्था र बिस्वाश टुट्दा
वहांको कर्मठ हात,पाखुरा,पसिना
चाउरिएको अनुहारबाट शोकले
बलिद्र झरेको वर्षाको भेल
सपना भरी देख्छु

सम्झिरहेछु कोप्पालाई
कोप्पाको आँसुको संवादलाई
विस्मृतिमा टल्किरहने सम्झनाको शीत
धुमिल एउटा पाटामा
कोप्पाको तन बिसाउने ओत
मनको आँगन झलल भएर
उतरमा हाँसेका कन्चन हिमालहरु
त्यहिँ हेरेर हामी हुर्केउ
कोप्पाको सेवा पुजा गर्ने ‘बेछुक ‘
उतै फर्केर मौलाउथ्यो
घैया र पाङ्दुरे कोदो पाक्थ्यो
हिमालको चिसो हावाले
अन्नबाली मिठो हुन्छ
मन पनि स्वच्छ सफा
पिढीमा फतफताउनु हुन्थ्यो कोप्पा

समय बिब्ल्याटो हिडेर
कोप्पाको तीतेपातीले पनि
शुद्दिकरण गर्न सकेन
प्रदूषणको कालो बादल
हिमाल छाति पिटीपिटी रोएर
आँसुको ढुंङ्गा पल्टदा
कतिको सपना कुल्चिएर
जीवनबाट किनार लाग्दा
कोप्पालाई जागै भेट्छु म सपनामा
प्रकृति रिसाउँदा अनर्थ हुन्छ
बिटुलो के गर्यौ तिमीहरुले
बित्यास आई लाग्यो यहाँ

वर्षौ भयो मेरो कोप्पा
धर्तिमा जूनी काटेर बाटो लागेको
आज पनि उतिकै माया छ
कोप्पालाई हिमालको
छिमेकी चार धाम जाँदा
ढोल ,झ्याम्टा र भारदार बटुलेर
हिमाल तिर्थ जानुहुन्थ्यो
धौता त खोला नाला पहाड
जङ्गल र हिमालमा बस्छन्
कित् मनमा हुन्छ भन्नु हुन्थ्यो
हिमाललाई माया गर्ने कोप्पा
चट्टानको पहाड सुकसुकाएर
उहिले जसरी हिमाल नहाँस्दा
मलाई लाग्छ कोप्पाले
मृत्यूको सिकुवाबाट हेरिरहनु
बाटो नपाएर पो होकी ?

( कोप्पा – बाजे, बेछुक – अदुवा, बाटो नपाउनु – किराँत संस्कृति अनुसार मरेको १३ दिनमा मृतकलाई बाटो लगाएर बाँचेकोसँग सम्बन्ध छुटाएको बिस्वाश गरिन्छ तर आत्मा अशान्ति भए मृतकले बाटो नपाएर यहीं लोकमा भड्किएको पनि भनिन्छ | संस्कार अनुसार चाहिं फेरि बाटो लगाएर मृतकलाई मुक्ति दिइन्छ )|

-दीपा राई पुन
बोस्टन, अमेरिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)