१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला वली माओवादीमा प्रवेश गर्नुभएको छ । दाङबाट प्रदेशसभा ३ (ख)बाट नेकपाको तर्फबाट उपचुनाव जित्नुभएको वलीले आइतबार माओवादीको संसदीय दलका नेता कुल प्रसाद केसीसमक्ष पत्र पेस गर्दै पार्टी प्रवेश गर्नुभएको हो । सर्वोच्चको फैसलापछि माओवादी र एमाले विभाजित भएसँगै उहाँले आफ्नो कित्ता क्लियर गर्नुभएको थिएन। तर आजको उक्त पत्रपछि वली माओवादी केन्द्र पार्टी प्रवेश गर्नुभएको हो।
वलीले पार्टी प्रवेश गरेसँगै मुख्यमन्त्री शंकर पोखरेलको बहुमत पनि गुमेको छ। एमालेले वलीसमेतलाई जोडेर आफ्नो पक्षमा ४१ जना सांसदको बहुमत रहेको दावी गर्दै आएको थियो।
लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ ।
