१९ बैशाख, रुपन्देही । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ नगराउन माग गरेका छन्। पोखरेलले प्रदेश सभामा बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन उनीहरुले प्रदेश प्रमुखसंग माग गरेका हुन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको विमला खत्री वलीले आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन् ।
पोखरेलले आफुसँग ४१ जना सांसदको बहुमत पुग्ने भन्दै आफुलाई पुन: मुख्यमन्त्रीमा नियुक्त गर्न दावी गर्दै आउनुभएको थियो। तर वली माओवादी केन्द्रमा प्रवेश गरेपछि भने पोखरेलको बहुमत गुमेको हो।
एमालेको बहुमत गुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेर पुनः मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न आग्रह गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताउनुभयो ।
