२९ बैशाख, महोत्तरी । चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् ।
महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो । त्यसपछि उनका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।
त्यस्तै ती युवाको समूहले स्टाफ नर्ससहित चार जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । तोडफोड गर्ने दाजुभाइलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो।
