पोखरा, १७ जेठ
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा पियारी थापालाई चयन गरेको छ ।
गण्डकी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावका बारेमा पार्टीले गरेको निर्णय विपरित लागेको भन्दै पार्टीले सांसद कृष्ण थापालाई दलको नेताबाट हटाएपछि सो रिक्त पदमा थापालाई चयन गरिएको हो ।
पार्टीका संसदीय दलका ज्येष्ठ सदस्य खीमविक्रम शाहीको अध्यक्षतामा यही जेठ १५ गते बसेको बैठकले पार्टीको केन्द्रीय निर्देशनानुसार दलका नेता चयनका लागि परिपत्र नआउँदा सम्मका लागि पियारी थापालाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
आइतबारको प्रदेश सभामा बैठकमा दलको नेताका हैसियतामा सांसद थापाले नै भनाइ राखेकी थिइन् ।
सांसद कृष्ण थापालाई पार्टीले साधारण सदस्यबाटै निष्कासन गरेपनि उनको सांसद पद भने कायम नै रहेको छ ।
