२५ जेठ, धनुषा । प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जानकारी दिनुभयो ।
प्रदेशसभा बैठक सुरु हुनासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठक सुरु भए लगत्तै बिरोध जनाएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गर्नुभएको थियो।
