शुक्रबार, बैशाख २१, २०८१

शुन्य समयमा बोल्दै सांसदहरु, कसले के भने ?


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 207
    SHARES

२७ साउन, काठमाडौं । राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याको सम्बन्धमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । शुन्य समयमा बोल्दै सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरुलाई बर्खास्त गर्ने र विद्यार्थीलाई कुटपिट गरी तनाव सिर्जना गरिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले लुम्बिनी प्रदेश सांसद विमला वलीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाइएको भन्ने घटनाको यथार्थताको पनि जानकारी माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा केही दिन यता तनावग्रस्त छ । त्यहाँको प्राध्यापकहरुलाई बर्खास्त गर्ने, विद्यार्थीहरुलाई कुटपिट गर्ने र अंगभंग गर्ने काम भइराखेको छ । र भिसीले त्यो काममा आफ्नो सक्रियता बढाइराख्नुभएको छ । त्यस उपर सम्वाद, छलफल, बहसद्धारा त्यसलाई टुंग्याउनुपर्ने कुरा भएको छैन । त्यसमा ध्यान जाओस् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सांसद विमला वली बन्धक बनाएको खबर आएको छ । यदी त्यो हो भने निन्दनीय कार्यको भत्र्सना गर्दै त्यसको यथार्थ के हो, जानकारी पाउँ ।’

सांसद विमला राई पौड्यालले कक्षा १२ को परिक्षा स्थगित हुँदा लाखौँ विद्यार्थीको भविष्य चौपट परेको भन्दै शिक्षा र स्वास्थ्यका विज्ञहरु बसेर कक्षा १२ को परिक्षालाई सुचारु गर्ने सम्बन्धमा गृहकार्य गरी परीक्षा सुचारु गराउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘१२ कक्षाका विद्यार्थीहरुको परिक्षा स्थगन भएको सूचना गरेको छ नेपाल सरकारले । पोहोर साल नै हुनुपर्ने परिक्षा अहिले पनि स्थगत भएको छ र लाखौँ विद्यार्थीको भविष्य चौपट भइराखेको छ । एकदमै अन्यौलमा छ । कति विद्यार्थीहरु बाहिर पढ्न जाने विद्यार्थीहरुपनि थला परिराखेका छन् । हुनत कोरोनाको महाकारीले गर्दा शारिरिक उपस्थिति गराउन नसक्ने भन्नेखालको अवस्था त छ, तर स्वास्थ्यका विज्ञहरु र शिक्षाका विज्ञहरु एकै ठाउँमा बसेर यो १२ कक्षाको विद्यार्थीको परिक्षालाई कसरी सुचारु गर्न सकिन्छ, कसरी मूल्यांकन गर्न सकिन्छ । यो विषयमा सरकारले प्रष्ट होमवर्क गरेर विद्यार्थीहरुको भविष्यलाई अन्यौलमा पार्ने काम नगरीकन परिक्षा सूचारु गरोस् भनेर म सरकारसँग अनुरोध गर्न चाहान्छु ।’

सांसद शान्तिकुमारी अधिकारी जिसीले बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडक खण्ड पिच नहुँदा जनताले सास्ती भोग्नुपरेको भन्दै ०७८ सालभित्रै काम सक्नेगरी सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडकखण्ड अझैपनि पिच हुन नसक्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर कष्टका साथ जोखिमपूर्ण तरीकाले यात्रा गर्न जनता बाध्यछन् । २०७८ सालभित्र उक्त सडकखण्ड पिच गर्न जिल्ला प्रशासन कार्यालय बागलुङ र सडक निर्माणको ठेक्का लिएको भारतीय कम्पनीलाई कडा निर्देशन दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद शेरबहादुर कुँवरले महाकाली नदीको तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई ड्रोनमार्फत खोज्ने भनिएको भएपनि भारतीय सिमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको भन्दै सरकारले भारत सरकारसँग गरेको पहल सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘सरकारले गठन गरेको छानविन समिति घटनास्थलबाट फिर्ता भएको, भारतीय सिमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको छ । के यो सत्य हो ? यदी यो सत्य हो भने सरकारले भारत सरकारसँग यो विषयमा के पहल गरेको छ, सदनलाई जानकारी चाहियो ।’

सांसद सिंहबहादुर विश्वकर्माले रत्नपार्कमा रहेको अस्थायी बसपार्क हटाउँदा दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लाबाट आउने सर्वसाधारणहरु गन्तव्यमा पुग्न नपाइ अलपत्र परेका भन्दै यातायात व्यवस्थालाई सरल र शुलभ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘काठमाडौं महानगरपालिका रत्नपार्कमा रहेको अस्थायी बसपार्क उठाइदिदाँ १७ वटा रुट, दैनिक १६ सय सवारी साधनसहित पूर्वका दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाबाट आउने लामो दुरीका सयौँ सवारी साधनहरु अलपत्र भए । गाउँबाट आउने सर्वसाधारणलाई आफ्नो गन्तव्य पुग्न समस्या खेप्नुपरेको छ । ट्राफिक व्यवस्था समेत खल्बल्लिएको छ । यातायात व्यवस्थालाई सरल र शुलभ, छिटोभन्दा छिटो व्यवस्था गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

सांसद सुमित्रा कुमारी बिसीले रुकुमपश्चिम त्रिवेणी गाउँपालिकामा मनकुमारी खड्काको हत्या भएको दुईहप्ता पुगिसकेको उल्लेख गर्दै यस घटनाको यथार्थ पत्ता लगाइ दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘दुई हप्ता अगाडी रुकुमपश्चिम त्रिवेणी गाउँपालिका निवासी मनकुमारी खड्काको जघन्य हत्या भएको समाचार आइरहेको छ । यर्थाथ घटना के भएको हो, छानविन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिदै गृह मन्त्रालयले यो सदनलाई पनि जानकारी गराओस् भन्ने अनुरोध गर्दछु ।’

यस घटनाको सम्बन्धमा गृह मन्त्रालयले सदनमा जानकारी गराउनुपर्ने पनि उहाँको माग छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }