सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

४२ औँ विश्व पर्यटन दिवस मनाईदैँ


  • माउन्टेन खबर
  • सोमवार, अशोज ११, २०७८
  • 1.3K
    SHARES

काठमाडौँ, ११ असोज

सेप्टेम्भर २७ अर्थात् आज विश्व पर्यटन दिवस । ४२ औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । कोभिड–१९ महामारीकैबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउन लागिएको छ । दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस भव्य रुपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’ मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताउनुभयो । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्दधन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । गत वर्ष भर्चुअलरुपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्यामाझ दिवस मनाइएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिक रुपमै कार्यक्रम गर्न लागिएको हो । दिवसकै अवसरमा नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रक्तादान कार्यक्रम गर्दैछ । नक्सालस्थित संस्थाको सचिवालय परिसरमा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तादान गरिनेछ ।

नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर भोली सोमबार नागपोखरीस्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घको भवन उद्घाटन गर्नुहुने संस्थाले जनाएको छ ।

सरकारले खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिषा‘ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सरकारी निर्णयको स्वागत गर्दै सबै सेवा सुचारु गर्ने जनाएका छन् । सीमा नाका खोल्ने र क्वारेन्टिनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ ।

कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्‍य पर्यटक नेपाल घुम्‍न आएका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति निकालेर विदेशी पर्यटकलार्ई अनअराइभल भिषा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल व्यवसायी उत्साहित भएको जनाएको छ ।

सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)