काठमाडौं, ११ असोज
नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ। विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रका सरोकारवाला सबैको साझा लक्ष्य हुनुपर्नेमा जोड दिनु भएको छ।
आज (सेप्टेम्बर २७) अर्थात् ४२ औं विश्व पर्यटन दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भएको छ। सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम गर्दै आएको प्रधानमन्त्री देउवाले बताउनु भएको छ।
सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको समेत उल्लेख गर्नु भएको छ।
अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबद्र्धन र सहकार्यका प्रयास पनि हुँदै आएकोसमेत प्रधानमन्त्रीले उल्लेख गर्नु भएको छ।
पर्यटन क्षेत्र कोभिड–१९को सङ्कटबाट ग्रस्त रहेको, व्यवसाय जोखिममा रहेको र कर्मचारी तथा कामदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायत नीतिगत व्यवस्था गरेको पनि प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ।
आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उहाँको भनाइ छ।

