काठमाडौं ,४ कात्तिक
डेभिड वाइजले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नामिबियाले आईसीसी टी-२० विश्वकपमा बुधबार ऐतिहासिक जित हात पारेको छ ।
पहिलो चरण अन्तर्गत समूह ए को खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्यो । टी-२० विश्वकपमा नामिबियाको यो पहिलो जित हो ।
नामिबियाले ६ बल बाँकी छँदै १ सय ६५ रनको लक्ष्य पूरा गरेको थियो । यससँगै टोलीको सुपर १२ को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
सोमबार पहिलो खेलमा नामिबिया सन् २०१४ को विजेता श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । त्यसमा पूरा टिम ९६ रनमै अलआउट भएको थियो ।
यो हारपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिने तयजस्तै भएको छ । आयरल्यान्डविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्स ७ विकेटले पराजित भएको थियो । शुक्रबार हुने खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरे पनि त्यो टिमका लागि पर्याप्त हुने छैन ।
