१७ मङ्सिर, काठमाडौं । कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो ।
स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईका अनुसार पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सूचना जारी गरिएको बताउनुभयो । “नवलपुरभित्र स्थायी वासिन्दा भएका व्यक्ति जुनसुकै अस्पतालमा उपचार गर्दा कोरोनाका कारण मृत्यु भए उनीहरुको परिवारलाई आर्थिक सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “कोरोनाबाट घरमा न्यान गुमाएका व्यक्तिको परिवारले आर्थिक सहयोग पाउने छैनन् ।”
रकम निकासा भइसकेकाले आगामी हप्तादेखि नै राहत उपलब्ध गराइने चापागाईले बताउनुभयो ।
