१२ चैत, काठमाडौं । मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ ।
शुक्रवार ठोरीमा बसेको मन्त्रीपरिषद्को बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरिएको बताउनु भयो । उहाँले यस क्षेत्रलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि बताउनु भयो ।
मुख्यमन्त्री राउतले भन्नुभयो, ‘आजको बैठकबाट ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्ने र यसका पूर्वाधार, यसलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउनको लागि, पर्यटकीय हिसावले आकर्षण बनाउनको लागि प्रदेश सरकारको तर्फबाट १० करोडको एउटा प्याकेजकै हामी घोषणा गर्ने भएका छौँ । जसले गर्दा यस ठाउँलाई अब पर्यटकीय आकर्षणको केन्द्र बनाउनको लागि विभिन्न कार्यक्रम बनाउने छौँ । हाम्रो लागि मधेस प्रदेशको लागि यो पहिलो पर्यटकीय पालिका हो । क्रमशः यो प्रदेशका अन्य भागहरुमा पनि हुँदै जान्छ ।’
मुख्यमन्त्री राउतले प्रदेशले आगामी दिनमा क्रमशः पर्यटकीय गन्तव्यका रुपमा अन्य आकर्षित स्थानहरुलाई प्राथमिकतामा राखेको पनि बताउनु भयो । तराई मधेसको ‘मिनी उपत्यका’को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको हो । भारतसँग सीमानाका जोडिएको कारण पनि यहाँ दिनहुँ हजारौँको संख्यामा भारतीय पर्यटकहरु आउने गर्छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ । नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गर्दछन् । पटेर्वासुगौली गाउँपालिकामा पर्ने बाबा दूधेश्वरनाथ महादेव भाठाधाम धार्मिक पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा वैशाख, साउन र माघ महिनामा लाग्ने मेलामा स्वदेश तथा छिमेकी देश भारतबाट लाखौँ भक्तजन आउने गर्दछन् । नेपालका चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका बासिन्दा पनि ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेका छन् । हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थलहरु छन् ।
