२५ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले सिरहा गोलबजार नगरपालिकाका छ नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्रले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवार र उहाँहरुका सहयोगीलाई पार्टीबाट निष्कासन गरेको हो ।
आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले गोलबजार नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवार बनाएका उम्मेदवारविरुद्ध बागी बनेर स्वतन्त्र उम्मेदवारी दिनुभएका रामचन्द्र महतो कोइरी, बास्ना मोक्तानसहित उहाँहरुको सहयोगी प्रवेश लामा, पुजन सिंह, कमल स्याङयो र मनोज सिंहलाई कारबाही गरिएको पार्टीका मधेश–प्रदेस इञ्चार्ज गणेश साहले जानकारी दिनुभयो ।
पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिने तथा बागी उम्मेदवारलाई सहयोग गर्ने छ जनालाई नै पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको इञ्चार्ज साहले बताउनुभयो । कारबाहीमा परेका कोइरीले गोलबजार नगरपालिकाको नगरप्रमुखमा र मोक्तानले उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले सो नगरपालिकाको निवर्तमान प्रमुख देवनाथ साह र निवर्तमान उपप्रमुखमा रेशम कुमारी थापालाई पुनः सोही पदमा उम्मेदवार बनाएको छ ।
