शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्मृतिमा घलेगाउँ


  • शशी पन्त
  • शुक्रबार, असार ३१, २०७९
  • 982
    SHARES

 

 

यात्रा संसारकै सबैभन्दा ठुलो खुला किताब हो । जसलाई जसले जसरी पढे पनि हुन्छ । मान्छेको एउटा जिन्दगीले पढेर पनि सक्दैन । त्यसैले म प्रायजसो यात्राको अवसर खोजिरहन्छु ।

नजिकको तीर्थ हेला भनेझैँ लामो समयसम्म लमजुङको बेशीसहरमा रहँदा, बस्दा घलेगाउँ उक्लिने त्यति सारो रहर कहिल्यै जागेन । फराकिलो दुरीसँगै हरेक चिजको महत्त्व बढ्ने रहेछ । चितवन बसाइँसँगै घलेगाउँको भ्रमण गर्ने तीव्र रहर जागेको थियो । त्यो लामो समयदेखिको सपना हाम्रो सहकर्मी मित्रहररूसँगको जम्बो टोलीसँग पूरा हुँदै थियो । कतिपय कुराहरु कल्पनामा पनि निकै मिठा लाग्ने गर्दछन् । त्यस्तै यात्राको कल्पनामा नै आनन्द महसुस भएको थियो ।

२०७९ जेठ १४ गतेको दिन धर्ती भेट्नलाई आकाश पानी बनेर वर्षिने तयारीमा थियो । त्योभन्दा अगाडि नै मेरो यात्राको तयारी पूरा भइसकेको थियो । प्रकृतिमा रम्न मन पराउने भएर होला सिमसिम पानीमा भिज्दै हिँड्न निकै रमाइलो लाग्छ । त्यो दिन पनि आकाशबाट वर्षिएका कताकती थोपासँगै घरबाट निस्किएँ । सबैजना जम्मा हुन नपाउँदै भारी वर्षा भयो । यात्राको रमाइलो पहिले नै मस्तिष्कमा सेट भइसकेकोले होला वर्षाले रोक्न भने कसैलाई सकेन । यात्राको रौनक बोकेर सबैजना एकैठाउँमा भेला भयौँ ।

घरमा बस्दा मौसम खुल्नु र धुम्मिनुको चासो नभए पनि नौलो ठाउँमा पर्यटक भएर जाँदा भने मौसम प्राथमिकतामा पर्दोरहेछ । यस्तै पानी परिरह्यो भने हामीले नयाँ ठाउँमा गएर अवलोकन गर्नुपर्ने सबै कुराहरु अवलोकन गर्न पाउँदैनौँ कि भन्ने डर कताकता मनमा लागिरहेको थियो ।
मस्तिष्कभरि उमङ्ग बोकेर हामीले यात्रालाई अगाडि बढायौँ । भरतपुरबाट अलिकति अगाडि के बढेका थियौँ हाम्रो यात्रामा ब्रेक लाग्यो । हरेक नेपालीले प्रायजसो भोगिरहेको नारायणगढ मुग्लिङको जाममा हामी पनि सहभागी नभई फुर्सद पाएनौँ । त्यस परिस्थितिलाई स्वीकार्नु बाहेक हामीसँग अन्य विकल्प थिएन । त्यसैले करिब ४, ५ घण्टाको समयलाई साथमा लगेको खानेकुराहरु खाँदै मिठामिठा गफ गरेर रमाइलोसँग बिताइदियौँ । यतै रात पर्ने पो हो कि भनेर ससंकित भएका हामी १ बजे मुग्लिङ पुग्न पाउँदा पनि निकै हर्षित थियौँ । सरासर मुग्लिङ पुगेको भए सायद यतिधेरै खुसी हुने थिएनौँ होला ।

त्रिशुली नदीको किनारमा अवस्थित होटलमा बसेर लन्च गर्दैगर्दा कुनै अखण्ड गायनजस्तो नदीको आदिम सुसेली सुनिन्थ्यो । मैले सोचे पृथ्वी नै गायक हो । झरना, खोला, नदी समुद्र सबैले यहाँ झरेर, घस्रिएर, ठोक्किएर हल्लिएर गीत गाइरहेका छन् ।

बेशीसहर र भरतपुर मेरो लागि पानी पँधेरो जस्तै भए तापनि साथीहरुसँगको यात्रा भएर होला अरुबेलाभन्दा फरक भनुभूति भइरहेको थियो । दायाँबायाँका तिनै दृश्यहरु पनि नौलो लागिरहेको थियो । बेशीसहरको सानो बजारलाई छिचोल्दै हाम्रो यात्रा अगाडि बढ्यो । कच्चि बाटो त्यसमाथि बिहान पानी परेकोले गर्दा गाडी मुस्किलले उकालो चढिरहेको थियो । हामी पनि घरिघरि झरेर गाडी धकेल्दै अनि हिँड्दै गर्दथ्यौ । त्यसमै पनि हामी रमाइरहेका थियौँ । खुसी हुनलाई केही पनि चाहिने रहेनछ भन्ने कुरा पनि त्यस यात्राको क्रममा महसुस भयो । ताकी हामी गाडी धकेल्दा पनि निकै खुसी थियौँ ।

मालीले निकै मिहिनेत गरेर काँटछाँट गरी एकै हारमा मिलाएर बगैँचामा फुलाएका फूलजस्तै देखिने जङ्गलका चिलाउने बोटका फूलहरुले आफूतिर तानिरहेका थिए । आँखाहरु पनि हरिया जङ्लहरुमा विचरण गर्न पाउँदा मख्ख थिए । पटक पटक गाडीबाट चढ्दै र झर्दै गरी झमक्क साँझमा हाम्रो गन्तव्य घलेगाउँमा प्रवेश गर्‍यौँ । प्रवेशद्धवारमा लेखिएको थियो, ‘घलेगाउँमा यहाँहरुलाई हार्दिक स्वागत छ’ । हामीलाई टीका लगाएर स्वागत गरियो । झमक्क साँझ परिसकेकोले दायाँबायाँ केही नियाल्न सकिने अवस्था थिएन । स्थानीयबासीले जताजता लैजान्छन् हामीहरु अवोध बालकझैँ पछ्याउँदै हिड्यौँ । उनीहरुको नियमानुसार हामीलाई २ र४ जनाको समूह बनाई एउटा एउटा घरमा खाने र सुत्ने व्यवस्था गरियो । खाना खानु अघि दिनभरिको यात्राको थकाइलाई नाचगान र रमाइलो गरी सुस्तायौँ ।

त्यहाँको आतिथ्य सत्कार एवम् वातावरणले जो सुकैलाई पनि आफ्नै घरमा भएको अनुभूति दिलाउँथ्यो । गुन्द्रीमा पलेटी कसेर चरेसको थालमा गुन्द्रुकको तिहुनसँग खाना खाँदै गर्दा भने आफ्नै आमाले पस्केर दिएको खानाको झझल्को आइरहेको थियो । दायाँबायाँ रहेका साथीहरुमा आफ्नै भाइबहिनीको आकृति देखिरहेकी थिएँ । त्यतिबेला फेरि एकपटक बाल्यकालका स्मृतिहरु मेरो मानसपटलमा ताजा भएर आएका थिए । दिनभरिको यात्राको समिक्षा गर्दै हामी सुत्ने तरखरमा थियौँ । साथीहरुसँगको यात्रामा प्रयजसो रातहरु गफमा नै उज्यालो हुने गर्दछन् । त्यो रातपनि तारा निकै तल झरेपछि बल्ल निदाइएछ ।

भोलिपल्ट बिहान भाले बास्नु अगावै हामी जागा भइसकेका थियौँ । घलेगाउँको चिसो मौसमलाई त्यहीँको अर्गानिक चियाले तातो बनाउँदै हामी भ्यु टावरतर्फ लाग्यौँ । मौसम एकदमै खुलेको थियो । अघिल्लो दिनको पानीले पखालेर रुखविरुवा पनि भर्खरै नुहाएर कलिला घाम ताप्न उभिएकी नवयौवनाजस्तै देखिएका थिए । बिहानको घामको किरण पोखिँदै गर्दा हामीले भ्यु टावरको फेदीमा टेकीसकेका थियौँ । भ्यु टावरमा चढेर चारैतिरको दृश्यावली नियाल्यौँ । हिमालहरु छर्लङ्ग देख्न सकिन्थ्यो । घरहरु एकै ठाउँमा झुरुप्प बनाइएका थिए । यहाँको प्रकृतिक सुन्दरता गुरुङ संस्कृति र परम्परालाई नजिकबाट नियाल्न आउनेको लर्को थियो । प्रकृति र संकृतिको संगम स्थल घलेगाउँ जहाँ गुरुङ संस्कृति, हिमाली दृश्य, आत्मीय व्यवहार, मीठो खानाका लागि प्रख्यात गाउँ रहेछ । गाउँको स्वच्छ वातावरणले तन र मन नै रिचार्ज हुने रहेछ । घलेगाउँ नजिकै दुईसय रोपनी जग्गामा फैलिएको सुन्दर चियाबगान पनि रहेछ । जहाँ गुरुङ पोशाक लगाएर फोटो सेसन गर्नेहरुको हाडबाजी हुने रहेछ । त्यस्तैगरी गुरुङ सङ्ग्रहालय, भ्यु टावर, उत्तरकन्या मन्दिर यहाँका अवलोकन गर्नैपर्ने ठाउँ रहेछन् ।

मस्तिष्कलाई सताइरहने धपेडीको बादललाई केही समयका लागि किनारा लगाउन नयाँ ठाउँको भ्रमणमा निस्के पनि आखिर आफ्नो नियमित काममा त फर्किनु पर्ने नै हुन्छ । हामी पनि केही समयको स्वच्छन्दताको अनुभूतिपछि फर्किने तयारीमा थियौँ । हामी बसेको घरबेटीले बिहानको नास्ता स्वरुप कोदोको सेलरोटी र गुन्द्रुकको तिहुन खान दिई टीका र माला लगाएर निकै सम्मानका साथ बिदाई गरे । हामीले पनि घलेगाउँको सम्झना स्वरुप त्यहीँको अर्गानिक चिया लिएर बिदाइको हात हल्लायौँ । फर्किने क्रममा सिउँडीबारबाट फेदीकुना हुँदै सुन्दरबजारको कृषि क्याम्पस पनि अवलोकन गरेर फर्कियौँ ।

यो छोटो समयको यात्रा पनि मेरो लागि अविस्मरणीय बन्न पुग्यो । कहिलेकाहीँ एकर दुई दिनको छोटो भ्रमण पनि हप्तौँ गरेकोभन्दा फलदायी हुँदोरहेछ । यदी समय, योजना, साथी र गन्तव्यस्थल सबैकुराको तालमेल मिल्ने हो भने छोटा भ्रमण पनि उपलब्धिमूलक र अविस्मरणीय हुँदारहेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }