बिहिबार, बैशाख २०, २०८१

गाजामा सक्रिय सहायताकर्मी मारिनु दु:खद: इजरायली सेना प्रमुख


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 34
    SHARES

गाजा पट्टी । इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दु:खित भएको बताउनु भएको छ ।

सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्रिय समुदायले तिब्र आलोचना गरेसँगै सेना प्रमुख हालेभीले इजरायली सेनाबाट “गम्भीर त्रुटी” भएको स्वीकार गर्नु भएको छ ।

इजरायली सेनाले वर्ल्ड सेन्ट्रल किचेन नामको सहायता टोलीमाथि सोमबार रातिको समयमा हवाई हमला गरेको थियो । सेना प्रमुख हालेभीले एक भिडियो सन्देशमा वल्र्ड किचेनको सहायता टोलीका गतिविधिलाई राम्रोसँग पहिचान गर्न नसक्दा त्रुटिबस सेनाले हमला गरेको बताउनु भएको छ ।

उहाँले वर्ल्ड किचेनका सदस्यमाथि जानाजान आक्रमण नगरिएको पनि दाबी गर्नु भएको छ ।

गत अक्टोबरमा युद्ध प्रारम्भ भएयता अमेरिकी परोपकारी संस्था वर्ल्ड किचेनले पहिलो पटक गाजामा विस्थापित सर्वसाधारणलाई खाद्यान्न समेतका दैनिक उपभोग्य राहत सामग्री वितरण गर्न थालेको थियो । हवाई हमलाबाट वल्र्ड किचेनको राहत सामग्री राखेको सवारी साधन ध्वस्त भएको थियो ।

वर्ल्ड किचेनले प्रकाशन गरेको विज्ञप्तिमा समुद्री मार्गहुँदै गाजामा ल्याइएको १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायता सामुद्रिक जहाजबाट अर्को गाडीमा राख्दै गर्दा आफ्ना कर्मचारीमाथि हमला भएको जनाएको छ ।

यस आक्रमणबाट अस्ट्रेलिया, बेलायत, प्यालेस्टाइन, पोल्यान्ड र अमेरिकी–क्यानाडेली नागरिक हताहत भएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नु भएको छ । उहाँले इजरायलले गाजामा मानवीय सहायताका लागि मद्दत गरिरहेका सहायताकर्मीमाथि हमला गर्नु अत्यन्त निन्दनीय घटना भएको बताउनु भएको छ ।

राष्ट्रपति बाइडेनले उक्त आक्रमणको तत्काल छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्न इजरायलसँग माग गर्नु भएको छ ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि मानवीय सहायताकर्मीमाथि भएको आक्रमण अत्यन्त दु:खद रहेको बताउँदै हालसम्म इजरायली आक्रमणबाट १९६ जना मानवीय सहायताकर्मी मारिइसकेको बताउनु भएको छ । उहाँले गाजामा तत्कालै मानवीय युद्धविराम गर्न इजरायललाई आग्रह गर्नु भएको छ ।

वर्ल्ड किचेनले इजरायली आक्रमणबाट मारिएका व्यक्तिहरुको नाम पनि सार्वजनिक गरेको छ । मारिनेहरुमा साइफेडिन इसाम आयाद अबुताह, जोमी फ्रान्कोम, पोल डामियन सोबोल, ज्याकोब फ्लिकिन्गर, जोन च्यापम्यान, जेम्स हेन्डरसन र जेम्स कर्बी रहेका छन् ।

डब्लुसीकेका प्रमुख कार्यकारी एरिन गोरले एक विज्ञप्ति जारी गर्दै दिनभरको कामबाट थकित हाम्रा सहायताकर्मीमाथि इजरायलले हवाई हमला गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको बताउनु भएको छ । उहाँले इजरायली सेनासँग समन्वय गरिए पनि इजरायली आक्रमण आफूहरुमाथि लक्षित रहेको जनाउनु भएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले डब्लुसीकेमाथि भएको हमला जानाजान नभएको दाबी गर्नु भएको छ । प्रधानमन्त्री नेतान्याहुले उक्त घटनाप्रति क्षमा समेत नमागेको बताइएको छ । यद्यपी उहाँले घटनाको अनुसन्धान गरिने बताउनु भएको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि इजरायली प्रधानमन्त्रीलाई टेलिफोन गरी उक्त घटनाप्रति रोश प्रकट गर्नु भएको छ । बेलायतले इजरायली राजदूतलाई डाकेर उक्त घटनाको पूर्ण जिम्मेवारी लिन माग गरेको छ ।

पोल्यान्डले भने उक्त घटनामा मारिएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन इजरायलसमक्ष आग्रह गरेको छ ।

उक्त घटनामा मारिएका सहायताकर्मीको शव दक्षिण गाजा सीमाबाट बुधबार आ–आफ्ना मुलुकतर्फ लैजाने प्रबन्ध मिलाइएको छ ।

यसैबीच, इजरायलले गाजामा जारी राखेको सैनिक कार्यबाहीका क्रममा बुधबार राति कम्तीमा ६० जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }