मधेस प्रदेश। लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस सरकारमा शामिल भएको छ । जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरुले शपथ लिएसंगै मधेस सरकारमा शामिल भएको हो ।
मधेस सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना सहभागी भएका छन् । कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरुलाई बिहिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएका हुन् ।
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गरेका हुन् ।
लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी हुन् ।
एमालेका राजकुमार लेखीले सो मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएका थिए । लेखीलाई गृह सञ्चार तथा कानून मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
