मकवानपुर- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा कार्यक्रम पारित गरियोस भनि गर्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ १४ गते प्रस्तूत गर्नुभएको प्रदेश सरकारको नीति कार्यक्रममा तीन जना प्रदेश सभा सदस्यहरूले संशोधन प्रस्ताव राखेको भएपनि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
आगामी आर्थिक वर्षकाृ नीति तथा कार्यक्रममा साना–साना योजनाहरू हटाएर समग्र, प्रभावकारी योजनातर्फ सरकार लागेको मुख्यमन्त्री लामाले बताउनुभयो । प्रदेश सरकारको प्रशासनिक भवनको निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा पार्न निकै संघर्ष गर्नुपरेको जनाउँदै टेन्डर प्रक्रिया चाँडै अघि बढ्ने जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रमले संघीयताको सबलीकरणदेखि समावेशी विकाससम्मका कार्यक्रम अघि सारेको छ ।
