रसुवा – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सांसद मोहन आचार्यले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
घटनाका बारेमा विस्तृत विवरण आउनै बाँकी छ । बाढीबाट सडक क्षति भएकाले त्यस ठाउँमा पुग्न कठिन छ । बाढीमा परी हराइरहेका नागरिकका सम्बन्धमा पूर्ण विवरण लिने काम भइरहेको छ । उक्त बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति गराएको छ । नेपाल–चीन सीमामा रहेको मितेरी पुल नै बगाएपछि बाढीको भयावह अवस्था चित्रण हुन्छ । सीमानाकामा रहेको भन्सार यार्डमा बाढी पसेको छ । भन्सार यार्डमा रहेका कतिपय कन्टेनर बाढीले बगाएको छ । रसुवाको सांसदको जिम्मेवारीमा रहेको हुँदा म अहिले प्रभावित क्षेत्रतर्फ जाँदैछु । स्याफ्रूबेँसीबाट रसुवागढी पुग्न अझै तीन÷चार घण्टा लाग्छ । त्यसतर्फको बाटो अवरुद्ध छ । क्षति भएको स्थानमा पुग्ने प्रयास गरिरहेको छु सांसद आचार्यले भने।
सांसद आचार्यले उद्धार कार्य अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै संकटको घडीमा सरकारको सक्रियता निर्णायक हुने बताएका छन्।
साथै, उनले यो संकटको बेला प्रभावित परिवारहरू र सम्पूर्ण रसुवा क्षेत्रका नागरिकप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्। उनले भने , “हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौं भन्ने दृढ विश्वास लिएको छु।”
