काठमाडौँ – बागमती प्रदेशको राजनीतिक द्वन्द्व अन्ततः टुङ्गोमा पुगेको छ । लामो समयदेखि नेपाली काँग्रेसभित्र चलिरहेको गुटगत विवाद, नेतृत्वको असन्तुष्टि र अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन् ।
उनको स्थानमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय नेताको रूपमा परिचित बानियाँको राजनीतिक यात्रा झन्डै चार दशक लामो छ । मकवानपुरको हर्नामाडीमा २०२७ सालमा जन्मिएका बानियाँले २०४४ सालमा राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा संविधानसभा सदस्य, राज्यमन्त्री हुँदै अहिले बागमती प्रदेशको शीर्ष नेतृत्वमा पुगेको छ ।
२०८१ आठ साउनमा बहादुर सिंह लामा मुख्यमन्त्री बनेसँगै प्रदेशको नेतृत्व काँग्रेसले लिएको थियो । यद्यपि, एक वर्षअघिको सहमतिअनुसार काँग्रेस र एमालेले २०–२० महिना प्रदेशको नेतृत्व गर्ने सहमति गरेका थिए । लामाले नुवाकोटबाट काँग्रेसको तर्फबाट पहिलो पटक मुख्यमन्त्रीको पद सम्हालेका थिए । तर समयको चालले परिस्थिति बदलिएको छ ।
आगामी बजेट तथा कार्यसम्पादनको विषयमा काँग्रेसभित्रको असहमतिले सरकारभित्रै दरार ल्यायो । बानियाँ पक्षीय नेताहरूले लामा नेतृत्वको आलोचना गर्दै सत्ता समीकरणलाई नै उल्ट्याउने तयारी थाले । लामामाथि संसदीय दलमै विश्वास गुमेको भन्दै काँग्रेसकै २२ जना सांसदले उनको विपक्षमा मत दिएपछि उनी दलको नेताबाट पदच्युत भए । साथै मन्त्रीपरिषद्मा रहेका चार जना काँग्रेस मन्त्रीले एकै पटक राजीनामा दिएपछि लामाको नेतृत्व सङ्कटमा प¥यो ।
यसपछि, नेपाली काँग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भए । संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार गठन गर्न सक्ने प्रावधानअनुसार बानियाँले एमालेसहित ६४ सांसदको समर्थनमा मुख्यमन्त्री पदको दाबी गरेका हुन् । कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ ।
यता मुख्यमन्त्री लामाले असहयोग, स्वार्थ समूहको दबाब र राजनीतिक षड्यन्त्रको सिकार भएको बताएका छन् । राजीनामा घोषणापछि उनले आफ्नो कार्यकाल इमानदारिता र निष्ठासाथ सञ्चालन गरेको दाबी गरे । तर संसदीय बहुमतको यथार्थले उनलाई पदबाट बाहिरिन बाध्य बनायो ।
सोमवार लामा पक्षबाट प्रदेश प्रमुख कार्यालयमा राजीनामा पत्र बुझाइएपछि मङ्गलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनको लागि मुख्यमन्त्री दाबी पेस गर्न आह्वान गरे । आज दिउँसो २ बजेसम्मको म्यादभित्र इन्द्रबहादुर बानियाँले काँग्रेस र एमालेको समर्थनसहित मुख्यमन्त्रीको दाबी दर्ता गराएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले दिउँसो ४ बजे बानियाँको शपथ ग्रहण समारोह तय गरेको छ। बानियाँले शपथ लिँएपछि तत्काल मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार सत्ता साझेदार दल एमालेबाट मन्त्रीहरूको नाम तोकिएको छ ।
नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
यद्यपि, बानियाँ नेतृत्वको सरकारको स्थायित्व अझै पनि राजनीतिक समझदारी र कार्यसम्पादनमा निर्भर रहनेछ। खास गरी आगामी आठ महिनामा उनले काँग्रेस र एमालेबिचको सत्ता बाँडफाँड, बजेट कार्यान्वयन र प्रदेश सरकारको विश्वसनीयता कायम राख्नुपर्ने चुनौती छ ।
बानियाँको अगुवाइमा बनेको यो गठबन्धन सरकारले प्रदेशमा स्थायित्व कायम गर्न सक्छ कि सक्दैन । त्यसले आगामी सङ्घीय राजनीतिलाई समेत प्रभाव पार्नेछ ।
